एनओसी लिन मन्त्रालय नै जान नपर्ने

हिमाल प्रेस ९ भदौ २०८३ १४:०८ | Tuesday, August 25, 2026
एनओसी लिन मन्त्रालय नै जान नपर्ने

काठमाडौँ- वैदेशिक अध्ययन अनुमति (एनओसी) लिनका लागि सधैँ भौतिक रूपमा उपस्थित हुनैपर्ने अनिवार्य बाध्यता नरहेको शिक्षा तथा खेलकुद मन्त्रालयले बताएको छ।

एनओसी सेवा प्रवाह र शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाहरूका सम्बन्धमा भदौ ३ गते सूचना जारी गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो।

केही शैक्षिक परामर्श संस्थाहरूले एनओसी प्राप्त गर्न अनिवार्य रूपमा सेवाग्राही आफैँ कार्यालयमा उपस्थित हुनुपर्ने वा गलत सूचना प्रवाह गरी विद्यार्थी तथा अभिभावकलाई अनावश्यक रूपमा मन्त्रालय पठाउने गरेको भन्दै व्यापक उजुरी परेपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता भ्रामक अभ्यासले सेवाग्राहीमा भ्रम र अनियमितता बढाएको मन्त्रालयको निष्कर्ष छ।

उपसचिव उद्धव प्रसाद श्रेष्ठद्वारा जारी सूचना अनुसार एनओसीको आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइएको छ।  केन्द्रीय सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता र शैक्षिक योग्यताको विवरण एक आपसमा मेल खाई जन्ममिति प्रमाणित हुने विद्यार्थीहरूले भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै एनओसी प्राप्त गर्न सक्नेछन्।

तर विवरण नमिल्ने आवेदकहरूले भने भौतिक रूपमै उपस्थित हुनुपर्नेछ। यसको जानकारी विद्यार्थीको आफ्नै एनओसी पोर्टलमा देखिने व्यवस्था मिलाइएको छ। परामर्श संस्थाहरूलाई पनि सोही बमोजिम सही जानकारी मात्र विद्यार्थीहरूलाई दिन मन्त्रालयले सचेत गराएको छ।

एनओसीका नाममा गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीलाई भ्रममा पार्ने वा अनुचित लाभ लिन खोज्ने शैक्षिक परामर्श संस्थाहरूमाथि कडा नियामक अनुगमन गरी कानूनी कारबाही अगाडि बढाउने चेतावनी दिइएको छ।

प्रकाशित: ९ भदौ २०८३ १४:०८ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast