काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ-५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका घटनाले पार्टी स्तब्ध भएको जनाएको छ।
कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र पीडित परिवारलाई तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
बैठकले लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्यलाभको समेत कामना गरेको छ।
कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिकाको उच्च सम्मान गर्दै आगामी दिनमा पार्टीलाई गतिशील बनाउन उनले ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने विश्वास व्यक्त गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।
यस्तै बैठकले प्रेस काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यराति गिरफ्तार गरिएको, कार्यालयमा खानतलासी गरिएको र हत्कडी लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेसले उक्त घटनालाई ‘स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने राज्यको नियत’ भन्दै यस्तो अवाञ्छित कार्य नगर्न सरकारलाई सचेत गराएको छ।
यसैगरी, सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदबाट प्रदर्शन गरिएको व्यवहारलाई कांग्रेसले ‘असंसदीय र अमर्यादित’ ठहर गरेको छ।
संसद् र संसदीय समितिहरूमा तथ्य र विधिसम्मत ढंगले प्रस्तुत हुन आग्रह गर्दै कांग्रेसले आफ्ना सांसदलाई पनि अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
बैठकमा पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, लक्ष्मी परियार, प्रतिमा गौतम, प्रा.डा गोविन्दराज पोखरेल, अमरसिंह पुनलगायत १८ केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक यही साउन २९ गते शुक्रबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता चालिसेले बताए।


