कानून, न्याय तथा संसदीयमामिलामन्त्री सोविता गौतम
काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वर्तमान संविधानअनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई विस्थापित गरी नेपालको वर्तमान संविधानअनुरूप नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून बनाउन खोजेको बताइन्।
उनले राष्ट्रिय सेवा दलको तालिम सबै विद्यार्थीका लागि अनिवार्य नरहेको उल्लेख गरिन्।
सामुदायिक विद्यालयका विद्यार्थीहरू यस्ता तालिम लिन निकै इच्छुक रहेको भन्दै मन्त्री गौतमले यसले उनीहरूलाई मोबाइलको लत र समाजबाट एक्लिने प्रवृत्तिबाट जोगाई सिर्जनशील बनाउन मद्दत गर्ने बताइन्।
मन्त्री गौतमले संसदीय समितिले गर्ने जुनसुकै छलफलमा सहभागी हुन आफू तयार रहेको भन्दै समितिलाई अनुशासित, मर्यादित बनाउनको सांसदहरु गम्भीर हुनुपर्ने उल्लेख गरिन्।


