ढल्केबर ट्रमा सेन्टर विषयमा गम्भीर हुन सांसद यादवको आग्रह

हिमाल प्रेस २५ साउन २०८३ १५:५५ | Monday, August 10, 2026
8
SHARES
ढल्केबर ट्रमा सेन्टर विषयमा गम्भीर हुन सांसद यादवको आग्रह नेपाली कांग्रेसका सांसद प्रा.डा.चन्द्रमोहन यादव। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रा.डा.चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माण गर्न लागिएको ट्रमा सेन्टरको विषयमा उत्पन्न विवादले मधेशको शान्ति सुरक्षाको वातावरण प्रभावित हुन सक्ने बताएका छन्।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले ट्रमा सेन्टर निर्माणमा देखिएको अन्योलबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए।

यादवले यसअघि प्रतिनिधिसभाको बैठकमा समेत आफूले उक्त विषय उठाएको र सभामुखले सरकारलाई सदनमा स्पष्ट धारणा राख्न निर्देशन दिइसकेको स्मरण गराए। तर, अहिलेसम्म विषय सदनको कार्यसूचीमा नपरेको भन्दै उनले असन्तुष्टि जनाए।

ट्रमा सेन्टर निर्माणका लागि आवश्यक तयारी पूरा भइसकेको अवस्थामा समेत सरकारले ढिलाइ गरिरहेकाले विभिन्न आशंका उत्पन्न भएको उनको भनाइ छ। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासीसमेत विरोधमा उत्रिएका छन्।

यादवले विकास निर्माणसँग जोडिएको विषयलाई लिएर स्थानीयस्तरमा आन्दोलन चर्किए त्यसले समग्र शान्ति सुरक्षामा असर पार्न सक्ने बताए।

‘अहिलेको संवेदनशील अवस्थामा विकास निर्माणका विषयलाई लिएर पुनः आन्दोलन चर्कियो भने अमनचयनको वातावरण बिग्रन सक्छ। त्यसैले सरकारले यस विषयमा बेलैमा स्पष्ट पार्नुपर्छ,’ उनले भने।

समितिका सभापति डा.ओजस्वी शेरचनमार्फत स्वास्थ्य मन्त्रीलाई तत्काल सार्थक पहल गर्न आग्रह गर्दै यादवले ट्रमा सेन्टर निर्माणमा अवरोध सिर्जना हुनुको कारण सरकारले देशसामु स्पष्ट पार्नुपर्ने बताए।

प्रकाशित: २५ साउन २०८३ १५:५५ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast