काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक सरिसकेको छ।यसकै कारण अहिले देशभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पनि एकदुई स्थानमा हल्का वर्षा जारी छ।
सोमबार दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ।
यसैगरी बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा पानी पर्नेछ। मधेस प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्छ। गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ।


