कांग्रेस संस्थापनइतरका नेताहरू भन्छन्- एकताको प्रयास भइरहेको छ

हिमाल प्रेस २५ साउन २०८३ १७:४१ | Monday, August 10, 2026
18
SHARES
कांग्रेस संस्थापनइतरका नेताहरू भन्छन्- एकताको प्रयास भइरहेको छ

काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरुले पार्टीलाई एकढिक्का गर्न आफूहरुले प्रयास गरिरहेको बताएका छन्।

कांग्रेस सिन्धु-काठमाडौँ सम्पर्क समितिले सोमबार काठमाडौँमा आयोजना गरेको युवा भेलामा उनीहरुले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्।

कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गालीगलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको धारणा राखे।

पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उनले सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको बताए। उनले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने उल्लेख गरे।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा मिलाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताए। तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनले बताए।

त्यस्तै कांग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकाले संयमित, धैर्य र उत्साहवर्धक ढङ्गले देशभर पुगेर आफ्ना कुराहरू राख्ने बताए। उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले संगठित भएको उल्लेख गरे।

विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको उनले आरोप लगाए।

कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसलाई फुटाउन नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउन तथा मुलुकको भविष्य हाक्न सक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाइएको उल्लेख गरे।

नेता बस्नेतले यदि साउन २८ गतेसम्म गगन थापाले निकास नदिएमा २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गरी नयाँ सुरुवात गर्न सक्ने चेतावनी दिए।

प्रकाशित: २५ साउन २०८३ १७:४१ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast