कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हिमाल प्रेस १४ भदौ २०८३ १६:११ | Sunday, August 30, 2026
कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

काठमाडौँ- पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो।

नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन।

विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो। त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भासिएको उनले बताए।

त्रिशूली नदीमा शनिबारभन्दा तीन मिटर पानीको सतह बढेको छ। पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सडक ल्याउने वा कसरी मर्मत गर्ने भन्ने बारेमा विज्ञ टोली आएपछि मात्र भन्न सकिने उनले बताए।

योे ठाउँमा भित्तो काटेर सडक चौडा गर्न कठिन भएको उनको भनाइ छ। यो ठाउँमा २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भासिएको छ। ६० मिटर अग्लो सडक भासिएको हो।

सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको हो। अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था नभएकाले कति भाग तलबाट खोलिएको छ भन्न नसकिएको पाण्डे बताउँछन्।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडक भासिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभिरतर्फ गइसकेको छ।

टोलीले हेरेपछि साँझ सम्ममा कसरी मर्मत गर्ने भन्ने बारेमा एकिन भन्न सकिने उनको भनाइ छ। तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको उनले जानकारी दिए।

अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले सोही सडक प्रयोग गर्न उनको आग्रह छ। विज्ञ टोलीको अध्ययनपछि एकतर्फि वा दुईतर्फि सडक कसरी खोल्न सकिन्छ त्यसबारेमा भन्न सकिने उनको भनाइ छ। यो सडक राजधानी प्रवेश र बाहिरिने मुख्य सडक हो।

यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन्। यसअघि विसं २०५६ मा यो सडकमा पहिरो खसेर धेरै समस्या उत्पन्न भएको थियो।

तत्कालीन अवस्थामा तलबाटै उकासेर सडक मर्मत गरिएको थियो। भित्तो पट्टी पहिरो रोकथामका काम गरेर रोकिएको थियो। गतवर्ष सोही ठाउँमा सडक केही भासिएपछि मर्मत भइरहेको थियो। मर्मतकै क्रममा पुनःफेर्दैसम्म सडक भासिएको र चिरिएको हो।

प्रकाशित: १४ भदौ २०८३ १६:११ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast