काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीका विषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाइ भएको छ।
एमाले र नेकपाबीच भएको सहमतिपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको हो। तर मुख्यमन्त्रीका विषयमा एमालेभित्र विवाद भएपछि सरकार गठनमा ढिलाइ भएको हो।
नेकपा एमाले र नेकपाबीच कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ।
वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने वा अर्को अनुहार ल्याउने विषयमा एमालेभित्र विवाद छ। मुख्यमन्त्रीका विषयमा विवाद देखिएपछि नेकपा एमाले कोशी प्रदेश समितिले प्रदेश सांसदहरुसँग छलफल थालेको छ।
नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले एकदेखि डेढ साताभित्र नेतृत्वबारे उठेको विवाद समाधान गरिने दाबी गरे। उनले पार्टी अध्यक्ष केपी ओलीले दिएको निर्देशन अक्षरशः पालना गराउन पार्टी र संसदीय दलभित्र छलफल शुरु गरिएको जानकारी दिए।
यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने आफू निर्विकल्प नरहेको भए पनि वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम आफूले गर्ने बताए। उनले धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकाले यसलाई दृष्टिगत गर्न आग्रह गरे।
सांसदहरुको छलफल कार्यक्रममा २९ जना प्रदेश सांसदहरु सहभागी भएको प्रदेश सांसद पाँचकर्ण राईले जानकारी दिए।
कोशी प्रदेशमा नेकपा एमालेका उपसभामुख सहित ४० जना प्रदेश सांसदहरु रहेका छन्।


