जनकपुर मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन

हिमाल प्रेस २२ साउन २०८३ ८:४७ | Friday, August 7, 2026
10
SHARES
जनकपुर मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम- मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ।

केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो।

भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ। यसैबीच, केन्द्रले सरकारी सम्पत्ति बहालबाट रु तीन लाख २४ हजार ३०० तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट रु ५९ हजार आम्दानी गरेको छ।

केन्द्रबाट उत्पादित भुरा मधेश प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित बागमती प्रदेशका काठमाडौँ, सिन्धुली, रामेछाप र दोलखा तथा कोशी प्रदेशका सुनसरीलगायतका जिल्लाका किसानले खरिद गर्दै आएका छन्।

केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ।

गत आर्थिक वर्षमा केन्द्रले चार करोड ७५ लाख पाँच हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ भुरा, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा दुई हजार किलो खाने माछा उत्पादन गरेको थियो।

केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक ज्ञान दिँदै आएको छ।

२०१८ मा स्थापना भएको केन्द्रमा ७८ वटा माछापोखरी रहेकामा १९ वटा पोखरी प्रयोगविहीन छन्।

प्रकाशित: २२ साउन २०८३ ८:४७ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast