काठमाडौँ- जाजरकोटको भेरी नगरपालिका २, रिसाङमा पहिरोले घर तथा टहरा भत्किँदा बेपत्ता रहेका ४ जनाको खोजीकार्य तीब्र बनाइएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार हाल ११ घाइतेको उपचार जारी छ भने ३ जना डिस्चार्ज भएका छन्। हालसम्म उपचारको क्रममा १ जना मृत्यु भएको छ।
थापाका अनुसार आज बिहान ०६:१० बजेबाटै घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट, नेपाली सेना र नेपाल प्रहरीको गरी १५५ जनाको संयुक्त टोली बेपत्ताको खोजीकार्यमा जुटेको छ।
शनिबार गएको पहिरोका कारण भेरी नगरपालिका ३ स्याला बस्ने पूर्णबहादुर विकको घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँचजनाको परिवार आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् । ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ ।
उक्त घटनामा ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, ४५ वर्षीय मनवीर चदरा, ४७ वर्षीया मोतीकला विक, ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही, ४५ वर्षीया सुन्तली चदरा घाइते भएका छन् ।
त्यस्तै, पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका २ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका २ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका २ बस्ने करिब ८७ वर्षीया रती खत्री बेपत्ता छन् ।
सम्पर्कविहीन भएकाहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।


