काठमाडौँ- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरमाथि इजाजत खारेज गर्नेसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
समितिले बुधबार सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए।
उनले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए।
समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि आपूर्ति व्यवस्थापन र बजार अनुगमनमा सुधारका काम भइरहेको उनले बताए।
सभापति अन्सारीले होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई नियन्त्रण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिए।


