काठमाडौँ- भारतका स्थल सेनाध्यक्ष धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्। सेठले बुधबार सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा उनले कलेजका विभिन्न गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकासमा महत्त्वपूर्ण मानिने उक्त तालिममा हाल १० जना विदेशी र ८२ जना नेपाली गरी ९२ जना शिक्षार्थी अधिकृत सहभागी छन्।

२०४९ पुस १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका १ हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बलका २९, राष्ट्रिय अनुसन्धान विभागका २० तथा रक्षा मन्त्रालयका एक गरी १ हजार ३७२ जना नेपाली अधिकृत प्रशिक्षित भइसकेका छन्।
त्यस्तै, विभिन्न मित्रराष्ट्रका १३२ जना अधिकृतले समेत उक्त कलेजबाट तालिम लिइसकेका छन्। कलेजबाट हालसम्म नेपाली तथा विदेशी गरी कुल १ हजार ५०७ जना शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



