चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको छेङ्दुस्थित सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार तथा राहत सामग्रीसहितका उद्धारकर्मीहरू पहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ प्रस्थान गर्नुअघि तयारी गर्दै। तस्बिर : सिन्ह्वा/रासस
काठमाडौँ- चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि चीनले उद्धार तथा राहत कार्य तीव्र पारेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले बिहीबार जनाएको छ।
उद्धारका लागि १११ सदस्यीय टोलीलाई हवाईमार्गबाट प्रभावित क्षेत्रमा पठाइएको छ भने आपत्कालीन सञ्चारका लागि ‘विङ लुङ’ ड्रोन परिचालन गरिएको छ।
जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डअन्तर्गतको वायुसेनाले वाई-२० सैनिक मालवाहक विमानमार्फत टोली खटाएको छ। टोलीले पहिरो प्रभावित क्षेत्रमा जनमुक्ति सेनाको संयुक्त उद्धार अभियान समन्वय गर्नेछ।
बिहीबार बिहान चङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार टोलीका एक सय ११ सदस्य बोकेको पहिलो चार्टर्ड विमान उडेको थियो। उक्त विमान बिहान ८ः३० बजेसम्म डिंग्री विमानस्थल पुग्ने तालिका थियो।
आपत्कालीन व्यवस्थापन मन्त्रालय र राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनले पठाएको टोलीसँग खोज तथा निरीक्षण, उद्धार, अवरोध हटाउने, सञ्चार तथा खाद्य व्यवस्थापनका उपकरण र राहत सामग्री छन्। टोलीमा बेइजिङ तथा सिचाङको छिमेकी सिचुआन प्रान्तका अग्नि तथा उद्धारकर्मी छन्। चारवटा तालिमप्राप्त खोज तथा उद्धार कुकुरसमेत टोलीमा छन्।
सिगात्से विमानस्थलको तुलनामा डिंग्री विमानस्थल प्रभावित क्षेत्रनजिक रहेकाले उद्धारकर्मी र उपकरणलाई घटनास्थलनजिकै परिचालन गर्न त्यसलाई प्रयोग गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सिचुआनबाट पठाइएको ‘विङ लुङ’ आपत्कालीन सञ्चार ड्रोन बिहीबार बिहान करिब २ बजे प्रभावित क्षेत्रको आकाशमा पुगेको थियो। ड्रोनले हवाई निरीक्षणसँगै आपत्कालीन सञ्चार सेवा उपलब्ध गराउन थालेको छ।
उच्च क्षमताका क्यामेरा जडित उक्त ड्रोनमा चीनका तीन प्रमुख दूरसञ्चार कम्पनीद्वारा सञ्चालित मोबाइल बेस स्टेसन तथा भूउपग्रह सञ्चार प्रणालीसमेत जडान गरिएको छ।
प्रभावित क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। चिनियाँ अधिकारीहरूले केरुङ बन्दरगाहतर्फको क्षेत्रमा पहिरोका कारण बनेको ‘ब्यारियर लेक’ अर्थात् थुनिएको तालसमेत फेला परेको बताएका छन्।
सिगात्से सैन्य उपकमान्डले १५८ जना जनशक्ति, चारवटा इन्जिनियरिङ मेसिन र २० भन्दा बढी सवारीसाधनसहित खोज तथा उद्धार उपकरण परिचालन गरेको छ।
केरुङ बन्दरगाहबाट पहिरोको किनारा करिब २.५ किलोमिटर टाढा रहेको र त्यहाँ जम्मा भएको गेग्रान करिब १.५ मिटर बाक्लो रहेको जनाइएको छ। यसले थप उद्धार कार्य कठिन बनाएको अधिकारीहरूले बताएका छन्। सम्भावित दोस्रो चरणको विपद्को जोखिम मूल्यांकन गर्न निगरानी चौकीसमेत स्थापना गरिने भएको छ।
जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डअन्तर्गतको वायुसेनाको वाई-२० विमान मार्गदर्शन टोली लिएर तिब्बततर्फ उडेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
प्रभावित क्षेत्रमा बिहीबार पनि वर्षा भइरहेको छ भने तापक्रम करिब १० डिग्री सेल्सियस रहेको छ। मौसमविद्हरूले आगामी तीन दिनसम्म केरुङ बन्दरगाहदेखि डिंग्री विमानस्थलसम्मको क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य थप प्रभावित हुन सक्ने बताएका छन्।
चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार नेपालतर्फको सीमावर्ती क्षेत्रमा ठूलो विपत्ति भएपछि बुधबार बिहान करिब १०ः३० बजे केरुङ बन्दरगाह क्षेत्रमा पहिरो आएको थियो।
स्थानीय उद्धार मुख्यालयका अनुसार बुधबार राति ८ बजेसम्म केरुङ काउन्टीमा तीन जनाको मृत्यु पुष्टि भएको थियो भने २६५ जना बेपत्ता छन्। अन्तिम क्षतिको विवरण भने प्रमाणीकरणकै क्रममा रहेको जनाइएको छ।
बिहीबार बिहानसम्म एक सय १३ वटा सवारीसाधनसहित ६ सय एकजना अग्नि उद्धारकर्मी परिचालन गरिएका थिए। चाइना एनेङ र पावरचाइनालगायत इन्जिनियरिङ उद्धार टोलीका तीन सय २५ जनालाई पनि घटनास्थलमा पठाइएको सिन्ह्वाले जनाएको छ।
केन्द्रीय सरकारले तिब्बतमा त्रिपाल, तताउने चुलो, कपडा, कम्बल, फोल्डिङ बेड र ओस नछिर्ने म्याटलगायत ३० हजार थान विपद् राहत सामग्री पठाएको छ।
चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले केन्द्रीय विपद् राहत कोषबाट १२ करोड युआन (करिब एक करोड ६८ लाख अमेरिकी डलर) छुट्याएका छन्। राष्ट्रिय विकास तथा सुधार आयोगले पूर्वाधारको आकस्मिक पुनःस्थापनाका लागि थप १० करोड युआन विनियोजन गरेको छ।
पहिरोका कारण सञ्चार सेवासमेत प्रभावित भएको छ। उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा पाँचवटा मोबाइल सञ्चार बेस स्टेसन बन्द भएका छन्। दूरसञ्चार कम्पनीहरूले सेवा पुनःस्थापनाका लागि प्राविधिक जनशक्ति, सवारीसाधन, जेनेरेटर, स्याटेलाइट फोन, आकस्मिक फाइबर अप्टिक केबल तथा पोर्टेबल स्याटेलाइट सञ्चार उपकरण परिचालन गरेका छन्।


