ग्यास पाउन घण्टौँ लाइन, उपभोक्ता मञ्चले भन्यो- कृत्रिम अभाव गराइयो

हिमाल प्रेस १८ साउन २०८३ १५:४३ | Monday, August 3, 2026
10
SHARES
ग्यास पाउन घण्टौँ लाइन, उपभोक्ता मञ्चले भन्यो- कृत्रिम अभाव गराइयो

काठमाडौँ- उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आरोप लगाउँदै दोषीमाथि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

सोमबार मञ्चका प्रवक्ता उज्वलराज गौतमले जारी गरेको विज्ञप्तिमा भारतबाट ग्यासको आयात, ढुवानी र आपूर्ति सामान्य अवस्थामै भइरहे पनि बजारमा ग्यास सहज रूपमा नपाइनु र सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्न बाध्य हुनु कृत्रिम अभावको संकेत भएको उल्लेख गरिएको छ।

मञ्चले ग्यास सञ्चितीकरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा चर्को मूल्यमा बिक्री गर्ने बिचौलिया र व्यवसायीमाथि कानुनी कारबाही गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

चाडपर्व नजिकिँदै गर्दा र विपद्को अवस्थासमेत रहेको समयमा बजारमा अभाव र महँगी बढ्नु तथा नियमनकारी निकाय प्रभावकारी रूपमा सक्रिय नदेखिनु दुःखद् र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी मञ्चको छ।

मञ्चका अनुसार पछिल्ला दिनहरूमा चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ। व्यवसायीहरूले वर्षा र ढुवानीलाई कारण देखाए पनि मूल्यवृद्धिको कुनै ठोस र औचित्यपूर्ण आधार नभएको मञ्चको दाबी छ।

बजारमा भइरहेको कालोबजारी, नाफाखोरी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तत्काल संयुक्त र प्रभावकारी अनुगमन टोली परिचालन गर्न मञ्चले सरकारसँग आग्रह गरेको छ। बिनाआधार बढाइएको खाद्य वस्तुको मूल्य तत्काल फिर्ता गराउन पनि माग गरिएको छ।

यसैगरी, बढ्दो बिजुली खपत र सवारी तथा ढुवानी भाडाको दोहोरो भारबाट सर्वसाधारणलाई राहत दिन आवश्यक सहजीकरणका कदम चाल्न पनि मञ्चले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: १८ साउन २०८३ १५:४३ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast