‘हर्के हल्दार’ अब ‘कमेडी बाज’मा देखिने

हिमाल प्रेस २३ साउन २०८३ १३:१४ | Saturday, August 8, 2026
10
SHARES
‘हर्के हल्दार’ अब ‘कमेडी बाज’मा देखिने

काठमाडौँ- ‘हर्के हल्दार’को परिचय बनाएका स्थापित कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत कमब्याक गरेका हुन् । पछिल्लो समय कुनै पनि कार्यक्रममा नदेखिएका विष्णु अब ‘कमेडी बाज’मा निरन्तर देखिने भएका छन् ।

हरेक आइतबार राति ८ बजे इमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको ‘कमेडी बाज’मा उनी परफर्मरका रूपमा देखिनेछन् । अर्थात्, उनले हरेक साता कमेडी प्रस्तुति दिनेछन्। उनी आफ्नो परिचित पात्र ‘हर्के हल्दार’कै गेटअपमा प्रस्तुति दिनेछन् । आउँदो आइतबार प्रसारण हुन लागेको ‘कमेडी बाज’को नयाँ भागबाट उनी देखिनेछन् । जुन भागमा सुशील नेपाल, प्रताप दास, सीडी विजय अधिकारी र श्याम राना गेस्टका रूपमा कार्यक्रममा पुगेका छन् ।

‘कमेडी बाज’का निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ। उनले भनेका छन्, ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार । त्यसैले दाइलाई आग्रह गरेर ‘कमेडी बाज’मा ल्याएका हौँ । आशा छ, दर्शकले उहाँको प्रस्तुतिबाट भरपुर मनोरञ्जन लिनुहुनेछ ।’

कलाकार विष्णु सापकोटा विगत लामो समयदेखि ‘हर्के हल्दार’ सिरियलमा काम गर्दै आएका थिए । तर पछिल्लो चार वर्षयता उनी उक्त सिरियलबाट बाहिरिएका छन् । यद्यपि, सिरियल भने प्रसारण भइरहेको छ ।

सुन्दरका अनुसार ‘कमेडी बाज’को फर्म्याटमा केही परिवर्तन गरिएको छ। यसअघि ब्याटल शैलीमा सञ्चालन हुँदै आएको कार्यक्रममा अब त्यो शैली नहुने र नितान्त मनोरञ्जनमा केन्द्रित केही नयाँ प्रस्तुति थपिएको बताइएको छ । शोमा सुन्दरसँगै आरती थापा होस्टका रूपमा रहेकी छन् । शोका सहायक निर्देशक विकास धमला हुन् भने लेखन सुन्दर खनाल र सन्देश देवकोटाले गर्दै आएका छन्। शोलाई अमृत सुनुवारको टिमले छायांकन गर्दै आएको छ ।

प्रकाशित: २३ साउन २०८३ १३:१४ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast