नागरिकको आक्रोशबाट कांग्रेस खुसी होइन चिन्तित हुनुपर्छ : सभापति थापा

हिमाल प्रेस २४ साउन २०८३ १५:३७ | Sunday, August 9, 2026
2
SHARE
नागरिकको आक्रोशबाट कांग्रेस खुसी होइन चिन्तित हुनुपर्छ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारका धारणा देखिएको बताएका छन्। उनले नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढ्दै गएको दाबी गरे।

आइतबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको भन्दै सरकारको कामप्रति उनीहरूमा निराशा बढेको बताए।

‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु। केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन,आज पनि भएको छैन,भोलि पनि हुँदैन भने हतास भएको पाउँछु। केही नागरिकलाई आक्रोश छ,’ उनले भने।

नागरिकमा देखिएको यही आक्रोशका कारण प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिनअघिको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको हुनसक्ने थापाले बताए। नागरिकमा बढेको आक्रोशबाट कांग्रेस खुसी हुन नहुने भन्दै उनले यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।

थापाले गत भदौ ८ गते संसद्‌मा आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई नागरिक आफू (कांग्रेस) सँग रिसाएको बताएको स्मरण गरे।

उनले केन्द्रीय समिति बैठकमा त्यतिबेला नागरिकबाट हुनसक्ने प्रतिरोधबारे आफूहरूले सचेत गराएको पनि बताए। ‘जनताको बारेमा कसैले जिम्मेवारी लिनु आवश्यक छैन भनियो। नागरिक र जनताको बारेमा तिमीहरूले भनेर हुँदैन भनियो। हामीले जितेर आएका छौँ भनियो,’ उनले भने।

थापाले भदौ २३ र २४ गतेको घटना एकाएक सिर्जना नभएको दाबी गर्दै त्यसअघि नै नागरिकमा जम्मा भएको आक्रोश फागुन २१ गतेको मतदानमा देखिएको बताए।

सरकारमा ‘छोटे राजा’को प्रवृत्ति देखियो

सभापति थापाले सरकारको शासकीय अराजकताका कारण राज्यका विभिन्न क्षेत्रमा ‘छोटे राजा’को प्रवृत्ति देखिन थालेको टिप्पणी गरे। ‘विस्तारै शासकीय शैली कस्तो बन्न थाल्यो भने जताततै छोटे राजाहरू देखिन थाले। यसले विस्तारै-विस्तारै धेरै कुरामा डुबाउन सक्छ,’ उनले भने, ‘यो सरकार बरालिएको छ। खबरदारी गरेर ल्याउने काम हाम्रो हो।’

सरकारले आफ्नो संवैधानिक सीमा नाघ्न थालेको आरोप पनि उनले लगाए। कार्यपालिकाले न्यायपालिका, संवैधानिक निकाय र संसद्समेत आफ्नो आदेश पालना गर्ने निकायका रूपमा व्यवहार गर्न थालेको उनको भनाइ थियो।

‘कार्यपालिकाले न्यायपालिकाको सीमा पनि मेरैभित्र पर्छ भन्न थाल्यो। संवैधानिक निकाय पनि मेरो आदेशपालक हो भन्न थाल्यो। संसद् पनि मेरो आदेशपालक हो भन्न थाल्यो,’ उनले भने, ‘राज्य शासकीय अराजकताबाट आक्रान्त भएको छ। यसको छुट यो सरकारलाई दिन हुँदैन।’

सरकारले आफ्नो सीमाभित्र रहेर काम गर्न उनले सुझाए। थापाले भने,‘तपाईंले लेन मिच्न पाउनुहुन्न, स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन पाउनुहुन्छ। तर लेनभन्दा बाहिर जान पाउनुहुन्न।’

सभापति थापाले कांग्रेसको विधानअनुसार नै विशेष महाधिवेशन गरिएको दाबी गर्दै त्यससम्बन्धी कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन्।

केन्द्रीय समिति बैठकमा उनले विशेष महाधिवेशन विधानको व्यवस्थाअनुसार नै गरिएको भन्दै अदालतमा पनि आफूहरूले तथ्य र सत्य कुरा नै प्रस्तुत गर्ने बताए।

‘केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ। विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेका हौँ। चित्त नबुझेपछि अदालत जानुभएको हो। सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने। विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ उनले भने।

आफूलाई दबाब वा धम्की दिएर निर्णयबाट पछि हटाउन नसकिने पनि थापाले बताए। ‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ। मलाई विधान थाहा छ। विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ उनले भने।

कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै थापाले आफूभन्दा बढी योगदान दिएका नेताहरूप्रति सम्मान रहेको बताए। ‘चार पुस्ताको पार्टी हो। मेरो उमेरभन्दा बढी योगदान दिने नेताहरू पार्टीमा हुनुहुन्छ। उहाँहरूलाई सम्मान छ,’ उनले भने।

पार्टीभित्र सबैलाई मिलाएर अघि बढाउने जिम्मेवारी सभापतिको भएको भन्दै थापाले आफूले पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने बताए। ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो,’ उनले भने।

प्रकाशित: २४ साउन २०८३ १५:३७ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast