शेरबहादुर देउवा। फाइल तस्बिर
काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति र समय फेरिएको छ। उनी साउन २८ गते काठमाडौँ आउने भएका हुन्।
यसअघि उनको साउन २६ गते राति आउने कार्यक्रम तय भएको थियो।
कांग्रेसका पूर्वप्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्वसभापति देउवाको हङकङबाट काठमाडौँ आउने मिति परिवर्तन भएको जानकारी दिए।
देउवा साउन २८ गते थाइ एयरलाइन्सको विमानबाट मध्याह्न १२ बजे काठमाडौँ आउने विश्वकर्माले बताए। उनका अनुसार देउवा थाइ एयरलाइन्सको विमानमा हङकङबाट थाइल्यान्ड हुँदै काठमाडौँ आउने छन्।
यसअघि हङकङको क्याथे प्यासिफिक विमानबाट उनको काठमाडौँ आउने कार्यक्रम तय भएको थियो।
नेता विश्वकर्माले पार्टीका नेता तथा कार्यकर्ताको अनुरोधमा देउवाको काठमाडौँ फर्किने कार्यक्रम परिवर्तन भएको बताए।
‘विमानस्थलमा स्वागत गर्न पाउँ भनेर साथीहरूको भनाइ थियो, राति आउँदा स्वागत गर्न असहज हने देखिएको,’ विश्वकर्माले भने,‘त्यसैले साथीहरूकै अनुरोधमा उहाँको काठमाडौँ आउने समय परिवर्तन गर्नुपरेको हो।’
गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा र उनकी पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा उपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते उनीहरू थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए।
कांग्रेस संस्थापनइतर समूहले साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेताहरूले बताएका छन्।


