प्रधानमन्त्रीलाई कांग्रेस सांसदको आग्रह- सही काममा साथ, गलतमा खबरदारी गर्छौं, कालो चस्मा खोल्नुहोस्

हिमाल प्रेस २५ साउन २०८३ १४:१५ | Monday, August 10, 2026
12
SHARES
प्रधानमन्त्रीलाई कांग्रेस सांसदको आग्रह- सही काममा साथ, गलतमा खबरदारी गर्छौं, कालो चस्मा खोल्नुहोस्

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई ‘कालो चस्मा खोल्न’ आग्रह गरेकी छन्। उनले मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षको साथ रहने भन्दै विवादित अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरिन्।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले आआफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए। प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्।

प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद काउचालाई बोल्न समय दिएका थिए। उनले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू एक्लै लडिरहेको आशय व्यक्त गरेको प्रसंग निकालिन्। उनले भनिन्,‘कालो चस्मा खोल्नुहोस्, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ।’

काउचाले सरकारका राम्रा काममा प्रतिपक्षले साथ दिने र गलत काममा खबरदारी गर्ने बताइन्। विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान तथा संसदीय मर्यादा कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न नसक्ने उनको भनाइ थियो।

‘प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’उनले भनिन्,‘प्रतिपक्षले दैनिक संसद्‌मा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भन्ने अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो?’

सीमा विवादसँग सम्बन्धित प्रधानमन्त्रीको अभिव्यक्तिले उनको राजनीतिक साखमै असर पारिरहेको दाबी गर्दै काउचाले संसद्को रेकर्डमा रहेको उक्त भनाइ सच्याउन पनि आग्रह गरिन्।

‘गल्ती स्वीकार गर्नु कमजोर हुनु होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो,’ उनले भनिन्, ‘प्रतिपक्ष तपाईंलाई अपमानित गर्दैन। हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ।’

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले समेत सरकारका कतिपय विषयमा प्रश्न उठाउन थालेको भन्दै काउचाले गलत कामको सत्तारुढ दलभित्रबाटै पनि खबरदारी हुनुपर्ने बताइन्।

प्रकाशित: २५ साउन २०८३ १४:१५ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast