केदार कार्की नेपाली कांग्रेसका प्रभावशाली नेताको परिचय बनाएका व्यक्ति हुन्। उनी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कोशी प्रदेशसभा सदस्य छन्। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन थालेका उनी विद्यालय अध्ययनकै क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत संगठनात्मक राजनीतिमा आबद्ध भएका हुन्। त्यसपछि नेपाली कांग्रेसको जिल्ला र प्रदेश संगठनमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै उनी पार्टीका प्रभावशाली नेताका रूपमा स्थापित भइसकेका छन्। संविधान जारी भएपछिको पहिलो प्रदेश निर्वाचनदेखि लगातार कोशी प्रदेशसभा सदस्य निर्वाचित कार्कीले प्रदेश-१ (हाल कोशी प्रदेश) का आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हाले। त्यसपछि २०८० असोजदेखि २०८१ जेठसम्म कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा काम गर्दै संघीय शासन प्रणाली, प्रदेश सरकार सञ्चालन, कानुन निर्माण, अन्तरसरकारी समन्वय तथा राजनीतिक सहमतिका जटिल अभ्यासको नेतृत्व गरे। पार्टीभित्र स्पष्ट धारणा राख्ने, सत्ता र संगठन दुवै विषयमा खुलेर बहस गर्ने नेताका रूपमा परिचित कार्की नेपाली कांग्रेसको वैचारिक दिशा, संगठनात्मक रूपान्तरण, संघीयता कार्यान्वयन, गठबन्धन राजनीति र लोकतान्त्रिक अभ्यासका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। वर्तमान सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले लिनुपर्ने राजनीतिक दिशा, आन्तरिक लोकतन्त्र र संगठन निर्माणबारे उनका अभिव्यक्ति समय-समयमा राष्ट्रिय राजनीतिक बहसको विषय बन्ने गरेका छन्। प्रदेश सरकारको नेतृत्व गरेको अनुभवका कारण संघ-प्रदेश सम्बन्ध, गठबन्धनको प्रभावकारिता र समग्र राष्ट्रिय राजनीतिबारे उनको विश्लेषणलाई विशेष चासोका साथ हेरिन्छ। उनै कार्कीसँग वर्तमान नेपाली कांग्रेस र समग्र राजनीतिबारे गरिएको कुराकानीको सम्पादित अंश :
एक समय कांग्रेसमा पुस्तान्तरण आवश्यक छ भन्दै तपाईँ नयाँ नेतृत्वका पक्षमा खुलेर उभिनुभएको थियो। आज पछाडि फर्केर हेर्दा त्यो निर्णय सही थियो कि तपाईंहरूको अपेक्षा पूरा भएन?
त्यो बेला हामीले पुस्तान्तरणको कुरा उठाएका थियौँ। अहिलेको अनुभवले मलाई एउटा कुरा सिकाएको छ। राजनीतिमा उमेरको पुस्तान्तरणभन्दा विचारको पुस्तान्तरण धेरै महत्त्वपूर्ण रहेछ। सुरुमा हामीले नयाँ पुस्ताले नेतृत्व गर्दा पार्टीमा नयाँ ऊर्जा आउँछ, संगठन बदलिन्छ र कार्यशैलीमा परिवर्तन आउँछ भन्ने अपेक्षा गरेका थियौँ। तर पछिल्लो अनुभवले उमेर मात्रै परिवर्तन भएर नहुने रहेछ भन्ने देखायो।
राजनीति कुनै व्यक्तिको उमेरले चल्ने विषय होइन। राजनीति अध्ययन, अनुभव, समर्पण र वैचारिक स्पष्टताले चल्ने विषय हो। मानिसको उमेर कम हुँदैमा ऊ सक्षम नेता भइहाल्छ भन्ने हुँदैन। अनुभवको पनि आफ्नै मूल्य हुन्छ। विश्वविद्यालयमा कुनै व्यक्ति रातारात प्राध्यापक बन्न सक्दैन। त्यसका लागि वर्षौँ अध्ययनअनुसन्धान, अध्यापन र अनुभव चाहिन्छ। राजनीतिमा पनि त्यही कुरा लागू हुन्छ। अध्ययनअनुसन्धान, जनतासँगको सम्बन्ध, संगठन निर्माण र लामो अनुभवबाट नेतृत्व परिपक्व बन्छ।
मैले पहिले पनि भन्ने गरेको थिएँ राजनीतिमा उमेर होइन, विचार महत्त्वपूर्ण हुन्छ। छाला राम्रो छ, जवान देखिन्छ भनेर नेतृत्व सफल हुन्छ भन्ने होइन। राजनीतिक नेतृत्वको मूल्यांकन विचार, क्षमता, अनुभव र संगठन निर्माण गर्ने सामर्थ्यबाट हुनुपर्छ। त्यसैले अहिले मलाई लाग्छ, हामीले उमेरको पुस्तान्तरणभन्दा विचारको पुस्तान्तरणलाई बढी जोड दिनुपर्थ्यो।
अहिलेको अनुभवले तपाईँलाई के सिकायो, राजनीतिमा पुस्ता परिवर्तन महत्त्वपूर्ण हो कि विचार परिवर्तन?
राजनीतिमा पुस्ता परिवर्तनभन्दा विचार परिवर्तन महत्त्वपूर्ण हुन्छ। उमेर परिवर्तन हुँदैमा राजनीति परिवर्तन हुँदैन। विचार परिवर्तन भयो भने मात्रै पार्टी, संगठन र देशको राजनीति बदलिन्छ। हामीले भारतको उदाहरण पनि देख्यौँ। त्यहाँ राहुल गान्धी उमेरका हिसाबले युवा नेता हुनुहुन्थ्यो। तर जनताले उमेर मात्र हेरेनन्। उनीहरूले अनुभव, नेतृत्व क्षमता र विश्वासका आधारमा निर्णय गरे। त्यसैले नरेन्द्र मोदीलाई निरन्तर अवसर दिए। यसबाट पनि राजनीति उमेरले होइन जनविश्वास र नेतृत्व क्षमताले चल्ने रहेछ भन्ने देखिन्छ। राजनीति एउटा निरन्तर सिकाइ प्रक्रिया हो। अध्ययन, अनुसन्धान, जनतासँगको सम्बन्ध, संगठनमा गरेको काम र अनुभवले नेतृत्व तयार हुन्छ। त्यसैले म आज पनि भन्छु राजनीतिमा विचारको पुस्तान्तरण हुनुपर्छ उमेरको मात्र होइन।
राजनीति उमेरले होइन विचारले चल्छ भन्नुभएको छ। अहिलेको कांग्रेसमा विचारको नेतृत्व देख्नुहुन्छ कि उमेरको नेतृत्व?
अहिले कांग्रेसभित्र विचारको बहसभन्दा व्यक्ति र शक्ति केन्द्रको प्रभाव बढी देखिन्छ। बीपी कोइरालाले स्थापित गर्नुभएको प्रजातान्त्रिक समाजवादको विचारलाई केन्द्रमा राखेर पार्टी अगाडि बढ्नुपर्ने हो। तर अहिले विचारभन्दा व्यक्तिको लोकप्रियता, शक्ति समीकरण र नेतृत्वको प्रतिस्पर्धाले बढी स्थान पाएको जस्तो देखिन्छ।
मेरो बुझाइमा पार्टीभित्र वैचारिक बहस कमजोर भएको छ। संगठन कसरी बलियो बनाउने, जनतासँग पार्टीको सम्बन्ध कसरी बलियो बनाउने भन्नेभन्दा नेतृत्व कसले गर्ने भन्ने बहस बढी भइरहेको छ। विचार केन्द्रमा नआएसम्म पार्टी बलियो हुँदैन। त्यसैले आज कांग्रेसमा विचारको नेतृत्व बलियो छ भन्ने अवस्था म देख्दिनँ।
गगन थापा सभापति बनेपछि कांग्रेसमा नयाँ ऊर्जा आउने अपेक्षा थियो। तपाईँको मूल्यांकनमा त्यो ऊर्जा संस्थागत परिवर्तनमा परिणत भयो कि व्यक्तिकेन्द्रित राजनीतिमा सीमित रह्यो?
हामीले पनि नयाँ नेतृत्वबाट ठूलो अपेक्षा गरेका थियौँ। संगठनमा सुधार हुन्छ, निर्णय प्रक्रिया लोकतान्त्रिक बन्छ र पार्टीलाई नयाँ ढंगले अगाडि बढाइन्छ भन्ने विश्वास थियो। तर व्यवहारमा अपेक्षाअनुसार संस्थागत परिवर्तन भएको देखिएन।
आज पनि पार्टीका धेरै निर्णय सीमित घेराभित्र केन्द्रित भएको आरोप सुनिन्छ। संगठन निर्माणभन्दा व्यक्तिगत राजनीतिक छवि निर्माणमा बढी ध्यान गएको अनुभूति हुन्छ। पार्टीलाई बलियो बनाउनेभन्दा व्यक्तिगत राजनीतिक भविष्यलाई केन्द्रमा राखेर काम भइरहेको जस्तो देखिन्छ। त्यसैले हामीले सोचेको संस्थागत परिवर्तन अपेक्षाअनुसार हुन सकेन भन्ने मेरो निष्कर्ष हो।

आजको कांग्रेस विचारबाट सञ्चालन भइरहेको छ कि केही सीमित शक्ति केन्द्रबाट?
मेरो बुझाइमा अहिले कांग्रेसमा विचारभन्दा शक्ति केन्द्र, गुट र समीकरणको प्रभाव बढी देखिन्छ। पार्टीभित्र वैचारिक प्रतिस्पर्धा कमजोर हुँदै गएको छ। निर्णय प्रक्रियामा पनि सीमित व्यक्तिहरूको प्रभाव बढी देखिन्छ भन्ने कार्यकर्ताको गुनासो छ।
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विचारको बहस निर्णायक हुनुपर्छ। संगठन, नीति र सिद्धान्तका आधारमा निर्णय हुनुपर्छ। तर अहिले विचारभन्दा शक्ति केन्द्र र नेतृत्वको समीकरणले निर्णयलाई प्रभावित गरिरहेको देखिन्छ। यही कारणले पार्टीभित्र वैचारिक बहसलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता मैले बारम्बार उठाउँदै आएको छु।
भृकुटीमण्डपको विशेष महाधिवेशन अभियानमा तपाईँ सक्रिय हुनुहुन्थ्यो। त्यसबेला तपाईंको वास्तविक उद्देश्य के थियो?
हामी विशेष महाधिवेशनका पक्षमा थियौँ तर कसैलाई सभापति बनाउने उद्देश्यले होइन। हाम्रो मुख्य उद्देश्य पार्टीलाई नियमित महाधिवेशनतर्फ लैजानु थियो। चार वर्ष बितिसक्दा पनि नियमित महाधिवेशन हुने अवस्था देखिएको थिएन। त्यसैले विशेष महाधिवेशनमार्फत पार्टीलाई व्यवस्थित गर्ने र त्यसपछि नियमित महाधिवेशनको बाटो खोल्नुपर्ने हाम्रो धारणा थियो।
भृकुटीमण्डपमा पनि मैले यही कुरा सार्वजनिक रूपमा भनेको थिएँ। विशेष महाधिवेशन आफैँ अन्तिम लक्ष्य होइन। त्यसबाट आएको नेतृत्वले नियमित महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो धारणा थियो। राजनीतिमा कुनै कुरा बोलिसकेपछि त्यसको जिम्मेवारी पनि लिनुपर्छ भन्ने विश्वासका साथ म त्यो अभियानमा सहभागी भएको हुँ।
तपाईँको भनाइअनुसार त्यो प्रक्रिया लोकतान्त्रिकभन्दा पूर्वनिर्धारित थियो। किन त्यस्तो निष्कर्षमा पुग्नुभयो?
मेरो असहमति प्रक्रियासँग थियो। त्यहाँ सभापति चयन निर्वाचन प्रक्रियाबाट भएको थिएन। प्रतिस्पर्धा पनि भएन। समिति गठनसमेत लोकतान्त्रिक प्रक्रियाबाट नभई केही व्यक्तिहरूले छुट्टै बसेर तय गरेको जस्तो देखियो। त्यसैले मैले त्यसबेला भृकुटीमण्डपमा बोलेर विशेष महाधिवेशनले नियमित महाधिवेशनको नेतृत्व पनि गर्नुपर्छ भनेको थिएँ।
हामीले डा. शेखर कोइरालासँग पनि विशेष महाधिवेशन गरौँ तर पार्टीको केन्द्रीय नेतृत्वसँग समन्वय गरेर गरौँ भनेका थियौँ। सबै पक्ष समेटेर सुरक्षित अवतरण (सेफ ल्यान्डिङ) खोज्नुपर्छ भन्ने हाम्रो प्रयास थियो। तर त्यस क्रममा धेरै विवाद, तर्कवितर्क र मतभेद भए। अन्ततः हामीले चाहेजस्तो प्रक्रिया अघि बढ्न सकेन।
सभापति बनेपछि सबै पक्षलाई समेट्ने वातावरण बन्नुपर्थ्यो भन्ने तपाईँको धारणा थियो। आज कांग्रेसभित्र त्यो वातावरण बनेको देख्नुहुन्छ?
लोकतान्त्रिक पार्टीमा नेतृत्वको पहिलो जिम्मेवारी सबैलाई समेट्नु हो। प्रतिस्पर्धा चुनावसम्म हुन्छ, त्यसपछि सबैलाई साथ लिएर पार्टी चलाउनुपर्छ। तर पछिल्लो अभ्यासमा त्यो भावना बलियो देखिएको छैन।
पार्टीभित्र भिन्न विचार राख्ने, आलोचना गर्ने वा वैकल्पिक धारणा प्रस्तुत गर्नेहरूलाई पनि सम्मान गर्नुपर्छ। सबैको सहभागितामा संगठन अगाडि बढाउनुपर्छ। तर व्यवहारमा त्यो समावेशी वातावरण अपेक्षाअनुसार बन्न सकेको छैन। त्यसैले पार्टीभित्र अझै पनि विश्वास र एकताको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ।
अहिले कांग्रेसमा असहमति राख्न सक्ने वातावरण छ कि आलोचकलाई भिन्न पार्ने प्रवृत्ति बढेको छ?
लोकतन्त्रमा असहमति स्वाभाविक कुरा हो। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र त झन् विचारको बहस खुला हुनुपर्छ। तर अहिले आलोचनालाई सहज रूपमा ग्रहण गर्ने संस्कृतिभन्दा आलोचकलाई भिन्न ढंगले हेर्ने प्रवृत्ति बढेको अनुभव हुन्छ।
कतिपयले त म कांग्रेस छोड्न लागेको भन्ने टिप्पणी पनि गरे। तर पार्टी छोड्ने होइन, पार्टीभित्र रहेर सुधारको पक्षमा बोल्ने मान्छे हुँ। विरोध गर्नु भनेको पार्टीविरुद्ध जानु होइन। गलत देखिएको विषयमा बोल्नु नै लोकतान्त्रिक संस्कार हो। पार्टीभित्र बहस, आलोचना र आत्मसमीक्षा नभएसम्म सुधार सम्भव हुँदैन।

तपाईँले गगन थापालाई ‘नेपाली कांग्रेसका टोनी ब्लेयर’ भन्नुभएको थियो। त्यसको वास्तविक अर्थ के हो?
मैले त्यो तुलना व्यक्तिप्रति आक्रोशका कारण गरेको होइन। वैचारिक सन्दर्भमा गरेको हुँ। हामी बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई कांग्रेसको मूल विचार मान्छौँ। तर गगनजीको राजनीतिक अभ्यास र प्राथमिकता त्यसबाट केही भिन्न देखिन्छ। त्यसैले मैले टोनी ब्लेयरको उदाहरण दिएको हुँ।
मेरो बुझाइमा उहाँ संगठनभन्दा लोकरिझ्याइँको राजनीतिमा बढी विश्वास गर्नुहुन्छ। हामी भने संगठनलाई बलियो बनाउनुपर्ने पक्षमा छौँ। वडा समितिलगायत पार्टीका आधारभूत संरचना कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसको हितमा हुँदैन भन्ने मेरो धारणा हो। पार्टीको शक्ति सामाजिक सञ्जाल वा व्यक्तिगत लोकप्रियताले होइन तल्लो तहको संगठनले निर्माण गर्छ। त्यसैले मैले बीपीको विचार र टोनी ब्लेयर शैलीबीचको वैचारिक अन्तर देखाउन त्यो तुलना गरेको हुँ।
अहिले पनि मेरो धारणा त्यही हो। कुनै नेता लोकप्रिय हुनु र पार्टी बलियो हुनु एउटै कुरा होइन। लोकप्रियता क्षणिक पनि हुन सक्छ तर पार्टीको आधार भने विचार, संगठन र कार्यकर्तामा टिकेको हुन्छ। नेतृत्वले आफ्नो व्यक्तिगत राजनीतिक भविष्यलाई केन्द्रमा राखेर अघि बढ्छ भने त्यसले पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउँदैन।
मैले टोनी ब्लेयरको उदाहरण पनि यही कारणले दिएको हुँ। बीपी कोइरालाले स्थापित गर्नुभएको प्रजातान्त्रिक समाजवादको मूल भावना संगठन र विचार हो। तर अहिले संगठनभन्दा व्यक्तिको छवि र लोकप्रियतालाई प्राथमिकता दिने प्रवृत्ति बढेको देखिन्छ। त्यसैले पार्टीको दीर्घकालीन हितका लागि व्यक्तिगत सफलताभन्दा संस्थागत सफलता आवश्यक हुन्छ।
तपाईँको आरोप छ- सभापति थापा सामाजिक सञ्जालको राजनीतिमा बढी केन्द्रित हुनुभयो। त्यसले कांग्रेसलाई दीर्घकालीन रूपमा फाइदा पुग्छ कि नोक्सान?
सामाजिक सञ्जाल प्रयोग गर्नु गलत होइन। समयअनुसार सबैले त्यसको प्रयोग गर्नुपर्छ। तर पार्टीको सम्पूर्ण राजनीति सामाजिक सञ्जालमा सीमित हुनु हुँदैन।
अहिले पार्टी कार्यालय विचारमन्थन हुने ठाउँभन्दा सुटिङ स्टुडियोजस्तो भएको देखिन्छ। त्यहाँबाट विचारभन्दा टिकटक र भिडियो बढी निस्किरहेका छन्। पार्टी कार्यालय भनेको नीति बनाउने, विचारको बहस गर्ने र संगठनलाई दिशा दिने ठाउँ हो। त्यही ठाउँ प्रचार उत्पादन गर्ने केन्द्र बन्छ भने त्यसले दीर्घकालीन रूपमा पार्टीलाई बलियो बनाउँदैन।
मैले बीपी कोइरालाको स्मृति दिवसकै दिन सामाजिक सञ्जालमा जन्मदिन मनाउन बोलाइएको प्रसंग पनि उठाएको थिएँ। मेरो उद्देश्य कसैको व्यक्तिगत आलोचना गर्नु होइन पार्टीको प्राथमिकता कता गइरहेको छ भन्ने प्रश्न उठाउनु थियो।
अहिले कांग्रेसमा बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद बलियो छ कि नयाँ आर्थिक-राजनीतिक सोचले त्यसलाई विस्थापित गरिरहेको छ?
हामी आज पनि बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमै विश्वास गर्छौं। कांग्रेसको मूल विचार त्यही हो। तर पछिल्लो समय पार्टीभित्र त्यो वैचारिक आधार कमजोर बन्दै गएको जस्तो लाग्छ। मेरो बुझाइमा अहिले संगठन र विचारभन्दा भिन्न शैलीको राजनीति अगाडि बढिरहेको छ। बीपीको विचारले कार्यकर्ता, संगठन र जनतालाई केन्द्रमा राख्छ। तर अहिले व्यक्तिकेन्द्रित र लोकप्रियतामुखी अभ्यास बढेको देखिन्छ। यही कारणले कांग्रेसले आफ्नो मूल वैचारिक आधार पुनः बलियो बनाउनुपर्छ भन्ने मेरो धारणा हो।
भिडियो


