‘बा एक योद्धा’ आगामी भदौ १९ मा आउने

हिमाल प्रेस २३ साउन २०८३ १३:०९ | Saturday, August 8, 2026
4
SHARES
‘बा एक योद्धा’ आगामी भदौ १९ मा आउने

काठमाडौँ- पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ।

चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको निर्माण संस्था आर्टिस्टिक इन्टरटेन्मेन्टले जनाएको छ ।

चलचित्रको निर्माता वसन्त लम्साल हुन् । निर्माता लम्साल विगत करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका व्यवसायी हुन्। व्यवसायसँगै उनी गीतकार, संगीतकार र गायकका रूपमा पनि सक्रिय छन्। ‘बा एक योद्धा’ निर्माणको हिसाबले उनको दोस्रो चलचित्र हो।

निर्माता लम्सालका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर सङ्घर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ।

निर्माता लम्सालले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने उद्देश्यले चलचित्र तयार पारिएको बताए । उनका अनुसार परिवारका सबै सदस्यले सँगै बसेर हेर्न सक्ने चलचित्र निर्माण गर्ने प्रयास गरिएको छ र यसले दर्शकको मन छुने विश्वास निर्माण टिमको छ।

चलचित्र हरि लम्सालले निर्देशन गरेका हुन् । कथा र पटकथा समेत उनैले तयार पारेका छन् भने डा। कृष्णहरि बराल, डा।राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै सङ्गीत सुन्न सकिनेछ। शिवराम श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई मित्र डी.गुरुङले सम्पादन गरेका छन्। कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल तथा सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।

चलचित्रमा दिव्यदेव पन्तले बुवाको मुख्य भूमिकालाई जीवन्त बनाएका छन् । झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको पात्र निर्वाह गरेकी छन्। यस्तै, सागर खनाल र सुप्रज्ञा शर्माले छोरा र बुहारीको भूमिकामार्फत पारिवारिक सम्बन्धका उतार चढावलाई प्रभावकारी रूपमा पर्दामा उतारेका छन्।

यसका अतिरिक्त शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुङ्गाना, अञ्जन ढकाल र करण शाहलगायत कलाकारको अभिनय रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन्।

करिब २ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको छायाङ्कन काठमाडौँ र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय नगर पनौतीका विभिन्न स्थानमा गरिएको हो।

प्रकाशित: २३ साउन २०८३ १३:०९ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast