नाटक

युद्धपछि सुरु हुने अन्धकारको कथा : ‘द एज अफ डार्कनेस’

विवेक विवश रेग्मी २४ साउन २०८३ १६:४६ | Sunday, August 9, 2026
12
SHARES
युद्धपछि सुरु हुने अन्धकारको कथा : ‘द एज अफ डार्कनेस’

काठमाडौँ- काठमाडौँस्थित मण्डला थिएटरमा युद्धको विनाश, मानवीय शोक, प्रतिशोध र नैतिक पतनको कथा बोकेको नाटक ‘द एज अफ डार्कनेस’ मञ्चन भइरहेको छ। साउन २२ गतेदेखि सुरु भएको नाटक भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।

धर्मवीर भारतीद्वारा सन् १९५४ मा प्रकाशित काव्य नाटक ‘अन्धा–युग’ को मूल चेतना र कथावस्तुलाई आधार बनाएर ‘द एज अफ डार्कनेस’ तयार गरिएको हो। राजेन्द्र शलभले नेपालीमा रूपान्तरण गरेको नाटकलाई सुदीप खतिवडाले निर्देशन गरेका छन् भने मिलन कार्कीको सहनिर्देशन रहेको छ।

महाभारतको युद्ध सकिएको १८औँ दिनपछिको विनाश र शून्यतालाई नाटकले आफ्नो कथाको केन्द्रमा राखेको छ। युद्ध सकिए पनि त्यसले छाडेको पीडा, शोक, प्रतिशोध र नैतिक संकट भने समाप्त नभएको अवस्था नाटकले प्रस्तुत गर्छ। विजय हासिल गर्ने पक्ष होस् वा पराजित हुने पक्ष, युद्धले अन्ततः दुवैलाई कुनै न कुनै रूपमा क्षति पुर्‍याउँछ भन्ने भाव नाटकमा देखाइएको छ।

कथाको केन्द्रमा युद्धपछिको हस्तिनापुर छ। आफ्ना प्रियजन गुमाएका पात्रहरू विजय र पराजयको अर्थ खोजिरहेका छन्। युद्धको परिणामले राज्य, परिवार र व्यक्तिको जीवनमा पारेको असरका बीच पात्रहरू आफ्ना निर्णय, कर्म र त्यसबाट उत्पन्न परिणामसँग जुधिरहेका छन्।

नाटकले महाभारतको कथा मात्र पुनः प्रस्तुत गर्दैन। त्यसलाई आधुनिक समाजसँग जोडेर हेर्नसमेत खोजेको छ। दोस्रो विश्वयुद्धपछिको मानवीय निराशा, नैतिक पतन र युद्धको निरर्थकतासँग जोडेर लेखिएको मूल कृतिको चेतनालाई नेपाली रंगमञ्चमा नयाँ प्रस्तुतिका साथ ल्याइएको निर्देशक खतिवडाले बताए।

धृतराष्ट्रको शारीरिक अन्धोपनलाई नाटकले समाज र सत्ताको नैतिक अन्धोपनको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। सत्ता, मोह र आफ्नो पक्षप्रतिको अन्धो समर्थनले मानिसलाई सत्य र विवेकबाट कसरी टाढा लैजान्छ भन्ने प्रश्न नाटकले उठाएको छ। धृतराष्ट्रको मोहान्धता, गान्धारीको पुत्रशोक र अश्वत्थामाको प्रतिशोधपूर्ण हिंसामार्फत युद्धले मानिसको चेतनामा पार्ने प्रभावलाई चित्रण गरिएको छ।

विशेषगरी अश्वत्थामाको चरित्रमार्फत प्रतिशोधले जन्माउने हिंसाको चक्रलाई नाटकले सशक्त रूपमा प्रस्तुत गरेको छ। हिंसाको जवाफ फेरि हिंसाबाट दिँदा त्यसले समाधानभन्दा थप विनाश निम्त्याउने सन्देश नाटकले दिन खोजेको छ। गान्धारीको शोक र कृष्णको उपस्थितिले समेत युद्ध, नैतिकता र मानवीय जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्छ।

जब समाजमा विवेक र मर्यादाको अन्त्य हुन्छ, जित्ने र हार्ने दुवै पक्ष अन्ततः पराजित हुन पुग्छन् र सिङ्गो सभ्यता नै अन्धकारमा रुमल्लिन सक्छ भन्ने विचार नाटकको मूल चेतनाका रूपमा प्रस्तुत गरिएको छ। मानिसले आफ्ना कर्म, हिंसा र निर्णयका लागि आफैँ जिम्मेवार हुनुपर्ने सन्देश पनि नाटकले दिन खोजेको छ।

११ वर्षपछि निर्देशकका रूपमा खतिवडा

नाटकका निर्देशक खतिवडाका लागि ‘द एज अफ डार्कनेस’ एउटा नाटकको निर्देशन मात्र होइन, रंगमञ्च यात्रासँग जोडिएको व्यक्तिगत अनुभवसमेत हो। उनका अनुसार ११ वर्षअघि यही नाटकमार्फत उनले अभिनेताका रूपमा रंगमञ्चमा पाइला टेकेका थिए।

‘त्यसबेला यस नाटकको संवाद र चेतनाले मलाई गहिरोसँग छोएको थियो,’ खतिवडाले भने, ‘११ वर्षको रंगमञ्चको लामो यात्रापछि आज पुनः यही नाटकलाई निर्देशकको भूमिकाबाट रंगमञ्चमा प्रस्तुत गर्न पाउँदा अलग्गै अनुभूति भइरहेको छ।’

अभिनेताका रूपमा रंगमञ्च प्रवेश गराएको नाटकलाई लामो रंगमञ्च यात्रापछि निर्देशकका रूपमा प्रस्तुत गर्दा आफ्नो सिकाइ, भोगाइ र अनुभवलाई समेत यसमा समेट्ने अवसर पाएको उनले बताए।

खतिवडाका अनुसार ठूलो संख्यामा कलाकार र प्राविधिकसहितको टिमलाई रंगमञ्चमा उभ्याएर कथा प्रस्तुत गर्नु आफैँमा चुनौतीपूर्ण भए पनि त्यसको आनन्द बेग्लै छ। रंगमञ्चमा बिताएका वर्षमा प्राप्त सिकाइ र अनुभवलाई प्रस्तुतिमा प्रयोग गर्ने प्रयास गरेको उनले बताए।

युद्धपछि बाँकी रहने प्रश्न

नाटकले युद्धलाई ऐतिहासिक घटनाका रूपमा हेर्दैन। युद्ध सकिएपछि बाँकी रहने मानसिकता, शोक, प्रतिशोध र नैतिक प्रश्नलाई केन्द्रमा राखेको छ। हस्तिनापुरमा युद्ध सकिएको भए पनि पात्रहरूको मनभित्रको युद्ध भने जारी रहेको देखिन्छ।

आफन्त गुमाएका पात्रहरूको पीडा, सत्ताले सिर्जना गरेको अन्धोपन र प्रतिशोधको आगोमा विवेक गुमाउँदै गएको अश्वत्थामाको चरित्रमार्फत नाटकले हिंसाको परिणाम देखाउँछ। एउटा हिंसाले अर्को हिंसालाई जन्म दिँदै जाँदा त्यसको अन्त्य कहाँ हुन्छ भन्ने प्रश्नसमेत प्रस्तुतिले दर्शकसामु छाड्छ।

कृष्णको उपस्थितिले भने घटनालाई अर्को दार्शनिक तहमा लैजान्छ। युद्ध र त्यसका निर्णयमा व्यक्तिको भूमिका, कर्मको जिम्मेवारी तथा परिणामबाट उम्कन नसकिने अवस्थालाई उनको उपस्थितिमार्फत व्याख्या गर्ने प्रयास गरिएको छ।

यसरी ‘द एज अफ डार्कनेस’ महाभारतको युद्धपछिको कथामा सीमित नभई युद्ध र हिंसाले आधुनिक समाजमा पार्ने प्रभावबारे सोच्न बाध्य बनाउने प्रस्तुतिका रूपमा तयार गरिएको छ। नाटकमा दयाभाव, करुणा, प्रेमलाई पनि जोड्न सकिएको भए थप जीवन्त बन्ने थियो।

नाटकमा आरती बरुवाल, मिलन पन्त, नित्य पौडेल, अविषेक खतिवडा, विश्वजित ढकाल, इन्द्रकुमार राई, घमन शाही, सौगन श्रेष्ठ, विजय दोङ, सुजता राई, सुजित मल्ल ठकुरी, आभूषण घिमिरे, जिन्लब बोम्जन, जोहेब शाह, सामना राई, राजु श्रेष्ठ, मनुमित लेप्चा, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सबिना चौधरी, सम्पदा लकन्द्रि, राजाराम गौतम, कमल रेग्मी र सुजल कोइरालालगायत कलाकारको अभिनय छ।

प्रकाशित: २४ साउन २०८३ १६:४६ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast