विपद्‌मा सेनाको सक्रियता : तामाकोशीमा फसेका युवकको सकुशल उद्धार,जाजरकोटमा खोजी जारी

हिमाल प्रेस ३१ साउन २०८३ १२:४५ | Sunday, August 16, 2026
6
SHARES
विपद्‌मा सेनाको सक्रियता : तामाकोशीमा फसेका युवकको सकुशल उद्धार,जाजरकोटमा खोजी जारी

काठमाडौँ- बाढीपहिरो तथा नदी कटानबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले उद्धार तथा विपद् प्रतिकार्यलाई तीव्रता दिएको छ। सेनाले विभिन्न स्थानमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारसँगै जोखिममा रहेका बस्ती संरक्षणका लागि सुरक्षा निकाय र स्थानीयवासीसँगको सहकार्यमा काम गरिरहेको जनाएको छ।

दोलखाको चुरिखर्क निवासी करिब २२ वर्षीय एक युवकलाई तामाकोशी नदीबाट नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ। साउन २९ गते माछा मार्ने क्रममा नदीको बहाब बढेपछि नदीमा फसेका उनलाई नेपाली सेनाबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको संयुक्त सहकार्यमा राति करिब १०:५० बजे सकुशल उद्धार गरेको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसैगरी, जाजरकोटको भेरी नगरपालिका-२, रिसाङ आसपासका विभिन्न स्थानमा अविरल वर्षाका कारण गएको पहिरोमा परी बेपत्ता तथा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेनाको भवानीदल गणबाट ०८३ साउन ३१ गते साँझदेखि खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिरहेको छ।

निर्देशनालयका अनुसार हालसम्म १० जना घाइतेको उद्धार गरिएको छ भने दुई मृतकको शव निकालिएको छ। दुई जना बेपत्ताको खोजी कार्य भने जारी छ। जाजरकोटका विभिन्न तीन स्थानमा करिब ६० देखि ६५ जना मानिस फसेको अवस्थामा रहेकाले उनीहरूको उद्धारका लागि समेत टोली परिचालन गरिएको छ।

राउतेरहबाट हालसम्म २० जनाको उद्धार गरिएको सेनाले जनाएको छ। बाँकी व्यक्तिको उद्धार कार्य पनि निरन्तर भइरहेको छ।

यसैबीच, नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नारायणी नदीको कटानबाट जोखिममा परेको बस्ती संरक्षणका लागि पनि नेपाली सेनाले काम गरेको छ। ०८३ साउन २२ गते राति नदी कटानका कारण बस्ती जोखिममा परेपछि नेपाली सेनाको गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले रातभर काम गरेको हो।

टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा जोखिमयुक्त स्थानमा अस्थायी तटबन्ध निर्माण तथा मर्मतसम्भार गरेको सेनाले जनाएको छ। उक्त कार्यबाट नदी कटान नियन्त्रण गर्नुका साथै जोखिममा रहेको बस्ती संरक्षणमा सहयोग पुगेको सेनाको भनाइ छ।

प्रकाशित: ३१ साउन २०८३ १२:४५ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast