समता शुल्क खारेजको स्वागत गर्दै गगन थापाले भने- बिजुलीको भ्याटसहित अव्यावहारिक कर पनि हटाऊ

हिमाल प्रेस ५ साउन २०८३ १७:०७ | Tuesday, July 21, 2026
20
SHARES
समता शुल्क खारेजको स्वागत गर्दै गगन थापाले भने- बिजुलीको भ्याटसहित अव्यावहारिक कर पनि हटाऊ नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले प्रारम्भदेखि नै यसको विरोध गर्दै आएको बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सल्लाहमा शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने निर्णय  सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दलका सभापति थापाको यस्तो प्रतिक्रिया आएको हो।

थापाले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी शिक्षा र स्वास्थ्य सेवा विलासिता नभई बाध्यता भएको बताए। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने उनको भनाइ छ।

थापाले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदारको रूपमा उल्लेख गर्दै समता शुल्क समानताको नीति नभई असमानतालाई झन् बढावा दिने व्यवस्था भएको टिप्पणी गरेका छन्।

सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै समता शुल्क लागू नगर्ने निर्णय गरेको भन्दै उनले त्यसलाई सही कदमको संज्ञा दिएका छन्। साथै, उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।

सभापति थापाले यसै अवसरमा बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि पुनरावलोकन गरी आमनागरिकको भावना र आवश्यकतालाई सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast