भेनेजुएला भूकम्प : ५८ हजार भवन क्षतिग्रस्त भएको विश्लेषण

हिमाल प्रेस १७ असार २०८३ ७:३६ | Wednesday, July 1, 2026
2
SHARE
भेनेजुएला भूकम्प : ५८ हजार भवन क्षतिग्रस्त भएको विश्लेषण

काठमाडौँ- भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको दायरा सरकारी अनुमानभन्दा निकै ठूलो हुन सक्ने देखिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले सार्वजनिक गरेको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार करिब ५८ हजार ८७० वटा भवन पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा एक शताब्दीयताकै सबैभन्दा विनाशकारी मानिएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पका कारण हालसम्म करिब एक हजार ७०० जनाको मृत्यु भइसकेको छ । हजारौँ मानिस अझै बेपत्ता रहेका छन् ।

ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जेमन भ्यान डेन होकले युरोपेली अन्तरिक्ष एजेन्सीको उच्च–रिजोल्युसन राडार स्याटेलाइट सेन्टिनल–१ बाट प्राप्त तथ्यांकको विश्लेषण गरेका हुन् ।

अनुसन्धानकर्ताहरूका अनुसार, भूकम्प गएको भोलिपल्ट संकलन गरिएको स्याटेलाइट राडार डेटाले प्रभावित क्षेत्रमा करिब ५८ हजार ८७० भवन क्षतिग्रस्त वा नष्ट भएको सम्भावना देखाएको छ ।

यद्यपि, उनीहरूले यो प्रारम्भिक मूल्यांकन मात्र भएको र स्याटेलाइटले सतहमा देखिएका आकस्मिक परिवर्तनका आधारमा अनुमान गर्ने भएकाले स्थलगत रूपमा यसको पूर्ण प्रमाणीकरण हुन बाँकी रहेको स्पष्ट पारेका छन् ।

यसअघि, भेनेजुएलाको नेशनल एसेम्बलीले आधिकारिक रूपमा ८५५ वटा भवन क्षतिग्रस्त भएको र तीमध्ये १८९ वटा भवन पूर्ण रूपमा ध्वस्त भएको जनाएको थियो ।

सरकारी तथ्यांक र स्याटेलाइट विश्लेषणबीच ठूलो अन्तर देखिएपछि नासाले विपद्का बेला स्याटेलाइटबाट प्राप्त सूचना राहत तथा उद्धार कार्यका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ । नासाका अनुसार यस्तो डेटा प्रयोग गरेर उद्धार टोलीहरूले बढी प्रभावित क्षेत्रको पहिचान गर्न, क्षतिको दायरा आकलन गर्न तथा राहत अभियानलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्छ । एनडीटीभी

 

प्रकाशित: १७ असार २०८३ ७:३६ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast