नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन तीन उपकरण तयारी अवस्थामा

हिमाल प्रेस ११ साउन २०८३ १६:०४ | Monday, July 27, 2026
4
SHARES
नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन तीन उपकरण तयारी अवस्थामा फाइल तस्बिर।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ।

बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए।

उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ।

हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ। त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ।

तुईन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ। ठूलो क्षेत्रमा पहिरो आएमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए।

उनले त्यस क्षेत्रमा पहिरो खस्नासाथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जानकारी दिए। वर्षात् सुरु भए सँगै दैनिक जसो ठूलासाना पहिरो झरिरहेका छन्।

ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ। सो सडकखण्डमा मध्यमदेखि उच्चसम्मका गरी ४३ ठाउँमा पहिरोको जोखिम छ। त्यसमध्ये सात ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छन्। हिउँदमा समेत उक्त सडकखण्डमा सुख्खा पहिरो जाने गरेको छ।

मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौँको संख्यामा सवारीसाधन राजधानी भित्रने र बाहिरिने गर्दै आएको पाइन्छ। हाल राजधानी काठमाडौँको लाइफलाइनका रूपमा त्यो सडक रही आएको छ।

प्रकाशित: ११ साउन २०८३ १६:०४ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast