सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र दुई लेन बनाउने पूर्वाधारमन्त्रीको घोषणा

हिमाल प्रेस २३ असार २०८३ १४:१३ | Tuesday, July 7, 2026
10
SHARES
सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र दुई लेन बनाउने पूर्वाधारमन्त्रीको घोषणा

काठमाडौँ- सरकारले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाउने घोषणा गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री लम्सालले बताए।

हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उनले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने उल्लेख गरे। पुल र सडकको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जान लागेको मन्त्री लम्सालको भनाइ थियो।

सदनमा बोल्दै मन्त्री लम्सालले भने, ‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ। यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ । पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिव २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ।’

मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्‍याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्ने जानकारी उनले दिए। सडक दुर्घटना न्यूनीकरणका लागि सडकको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताए।

उत्तरी चिनियाँ सीमानासम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यस सडक खण्डलाई सीमासम्मै पुर्‍याउने गरी काम अगाडि बढाइने मन्त्री लम्सालले सभालाई जानकारी दिए। स्थलगत निरीक्षणबाट फर्केपछि सडक र पुलको थप विस्तृत विवरण सदनमा पेस गर्ने उनले बताएका छन्।

प्रकाशित: २३ असार २०८३ १४:१३ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast