काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक गतिविधिलाई प्राथमिकता दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वदेशी जुत्ता उद्योगका प्रतिनिधिसँग आज छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहले बिहान ११:३० बजे जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्।
छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।
बैठकमा स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, आयात प्रतिस्थापन, आत्मनिर्भरता तथा उद्योगले भोगिरहेका नीतिगत र व्यावहारिक समस्याबारे छलफल हुने जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले सिंहदरबारस्थित कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग करिब एक घण्टा छलफल गर्दै आगामी मौद्रिक नीतिलाई थप लचिलो, व्यावसायिक र उद्यममैत्री बनाउन सुझाव दिएका थिए।
प्रधानमन्त्रीले सेयर बजारमा आबद्ध लगानीकर्ताको मनोबल कायम राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पुँजी बजार र उद्यम क्षेत्रमा लगानी बढ्ने वातावरण सिर्जना गर्न नीतिगत सहजीकरण आवश्यक रहेको बताएका थिए।
उनले उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि बैंकको ब्याजदर र कर्जा प्रवाहका सर्तलाई उद्यममैत्री बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
महिला उद्यमी तथा आर्थिक सामाजिक रूपमा पछाडि परेका वर्गलाई सहुलियतपूर्ण कर्जामार्फत अर्थतन्त्रको मूलधारमा ल्याउन पनि मौद्रिक उपकरण परिचालन गर्नुपर्ने उनको सुझाव थियो।
जवाफमा गभर्नर पौडेलले आगामी मौद्रिक नीतिलाई समयसापेक्ष, लचिलो र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारसँग समन्वय गरेर अर्थतन्त्रलाई गति दिने दिशामा राष्ट्र बैंक अघि बढ्ने बताएका थिए।
लगानीकर्ता र उद्यमीमैत्री नीति अवलम्बन गर्दै कसैलाई अनावश्यक अप्ठ्यारो नपर्ने गरी मौद्रिक नीति तर्जुमा गरिने विश्वास पनि उनले व्यक्त गरेका थिए।

