श्रीलंकाबाट फर्किए प्रचण्ड

हिमाल प्रेस ३ साउन २०८३ १५:४० | Sunday, July 19, 2026
14
SHARES
श्रीलंकाबाट फर्किए प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन्।

संयोजक प्रचण्ड बुधबार श्रीलंका पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।

उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनहरूको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

समापनसत्रमा उनले एसियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

भ्रमणका क्रममा संयोजक प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई विशेष अन्तरवार्ता पनि दिए। उक्त अन्तरवार्तामा उनले नेपालको शान्ति प्रक्रिया, जनयुद्धबाट लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा, समकालीन विश्व राजनीतिमा वामपन्थी आन्दोलनका चुनौती तथा नेपालको समाजवादी रूपान्तरणको कार्यदिशाबारे विस्तृत धारणा व्यक्त गरेका थिए।

श्रीलंका बसाइका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।

त्यसैगरी, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा दुई देशका कम्युनिस्ट आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति, दक्षिण एशियामा वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका अनुभवबारे विस्तृत छलफल भएको थियो। उक्त भेटमा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिबीच राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो।

भ्रमणका क्रममा संयोजक प्रचण्डले विभिन्न देशबाट सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै आपसी सम्बन्ध विस्तार गरेका थिए।

 

प्रकाशित: ३ साउन २०८३ १५:४० | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast