विश्वविद्यालयमा नियुक्ति, सरुवा र बढुवामा अब राजनीतिक दबाब चल्दैन : शिक्षामन्त्री

हिमाल प्रेस ७ साउन २०८३ १३:४५ | Thursday, July 23, 2026
34
SHARES
विश्वविद्यालयमा नियुक्ति, सरुवा र बढुवामा अब राजनीतिक दबाब चल्दैन : शिक्षामन्त्री

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्दै योग्यता र क्षमताका आधारमा मात्रै नेतृत्व तथा प्रशासन सञ्चालन गरिने बताएका छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्णरूपमा अन्त्य गर्नेछौँ,’मन्त्री पोखरेलले भने। उनले अब विश्वविद्यालयको नेतृत्व तथा टोली राजनीतिक भागबन्डाका आधारमा नभई मेरिटोक्रेसीका आधारमा गठन गरिने बताए।

नियुक्ति, सरुवा, बढुवा लगायतका प्रशासनिक निर्णयमा कुनै पनि राजनीतिक दबाब स्वीकार नगरिने उनको भनाइ थियो। ‘अब विश्वविद्यालयको नेतृत्व र टोली भागबन्डाको राजनीतिका आधारमा होइन मेरिटोक्रेसीका आधारमा निर्माण हुनेछ। विश्वविद्यालयमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन। कसैलाई कहाँ राख्ने,सरुवा गर्ने,बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन्’, उनले भने।

प्राज्ञिक वातावरण सुधार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयभित्र कुनै पनि प्रकारको राजनीतिक दबाब परे तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक दलबाट अनुचित दबाब आए सरकारले त्यसको प्रतिरोध गर्ने र विश्वविद्यालयको स्वायत्तताको रक्षा गर्ने उनले विश्वास दिलाए।

‘विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा अघि बढाउने प्रतिबद्धतासहित काम गर्नेछौँ। हाम्रो पार्टी वा अन्य कुनै पार्टीबाट दबाब आएमा त्यसको प्रतिरोध गर्न हामी सधैँ तयार रहनेछौँ,’ उनले भने,‘अब विश्वविद्यालयमा हुने सबै निर्णय मेरिटोक्रेसीका आधारमा हुनेछन्। जे हुनुपर्ने हो,त्यही हुनेछ। राजनीतिक हस्तक्षेप अब हुनेछैन।’

प्रकाशित: ७ साउन २०८३ १३:४५ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast