कर्णाली नदीमा गाडी खसेको घटनाप्रति सरकार बेखबर रहेको भन्दै सदनमा आपत्ति

हिमाल प्रेस २२ असार २०८३ १२:४४ | Monday, July 6, 2026
कर्णाली नदीमा गाडी खसेको घटनाप्रति सरकार बेखबर रहेको भन्दै सदनमा आपत्ति

काठमाडौँ- गत असार १८ मा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी दैलेखस्थित कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार (असार २२) प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अहिलेसम्म उक्त दुर्घटनाबारे सरकार बेखबर भएको भन्दै कर्णाली नेपालमा पर्छ कि पर्दैन? भनेर प्रश्न गरे।

‘कर्णाली नेपालमा पर्छ कि पर्दैन? विपद्का बेला राज्य किन बेखबर हुन्छ? आकाशमा मन्त्री उडिरहँदा नदीमा नागरिक डुबिरहेका थिए,’ उनले भने। शाहीले कर्णालीको नागरिकको ‘मूल्य’ तोकिदिन आग्रह गरे । ‘कर्णालीको नागरिकको मूल्य कति हो, सभामुख महोदय? तोकिदिन पर्‍यो। भिख मागेका होइनौँ,’ उनले भने।

उनले दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई ‘रुलिङ’को माग गरे। ‘सरकारलाई तत्काल रुलिङ गर्नुस्, घटनाको सत्यतथ्य सार्वजनिक गर्न । उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न रुलिङको माग गर्न चाहन्छु,’ उनले भने। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि दुर्घटनाबारे छिटै जानकारी गराउन माग गरिन् । उनले कर्णालीवासीले मृत्यु भएपछि मात्र ‘स्वर्ग’ देख्ने हो? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीले कर्णालीमा गएर स्वर्गकी रानी, कर्णालीकी सुइना भनेर सम्बोधन गर्नुभयो, के कर्णालीवासीले स्वर्ग देख्न मरेर नै जानुपर्ने हो?’ उनले राज्यको चरम बेवास्ता भएको भन्दै कर्णाली राजमार्गको स्तरोन्नतिको माग गरिन्।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी खसेको थियो। दुर्घटनामा परी एकको मृत्यु र चारजना अझै बेपत्ता छन्।

प्रकाशित: २२ असार २०८३ १२:४४ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast