एर्लिङ हालान्डका हल्लिँदै उड्ने सुनौला कपाल फुटबल मैदानमा सजिलै चिनिने विशेषता हुन्। धेरैजसो अवस्थामा उनी तीव्र गतिमा खुला ठाउँतर्फ दौडिरहेका हुन्छन् र विपक्षी डिफेन्डरहरू उनलाई पछ्याउन संघर्ष गरिरहेका हुन्छन्। साेमबार भने दृश्य केही फरक थियो। उनी धेरै समय खेलबाट टाढा जस्तै देखिए तर अन्ततः दुई गोल गर्दै नर्वेलाई ब्राजिलमाथि २-१ को ऐतिहासिक जित दिलाए र पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याए।
२५ वर्षीय हालान्डले अन्तिम-१६ को खेलमा पेनाल्टी क्षेत्रभित्र जम्मा चार पटक मात्र बल छोएका थिए। तर तीमध्ये एक स्पर्शले खेलको ७९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलायो। त्यसको ११ मिनेटपछि उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली लो-ड्राइभ प्रहारले दोस्रो गोल थपे। यसले उनी किन विश्व फुटबलका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गर्यो। योसँगै उनी सात गोलका साथ फ्रान्सका केलियन एम्बाप्पे र अर्जेन्टिनाका मेस्सीसँग बराबरी गर्दै गोल्डेन बुट दौडको शीर्ष स्थानमा पुगे।
पूर्व स्कटल्यान्ड विंगर प्याट नेभिनले बीबीसीसँग भने,‘त्यो गोल अरू कुनै खेलाडीले त्यसरी गर्न सक्दैन। त्यहाँ त अवसर नै थिएन। आधा अवसर पनि थिएन, चौथाइ अवसर पनि थिएन। केही पनि थिएन।’
पूर्व इंग्ल्यान्ड स्ट्राइकर इयान राइटले आईटीभीमा भने, ‘मानिसहरू सधैं उनी कति पटक बल छुन्छन् भन्ने कुरा गर्छन्। तर उनलाई धेरै पटक बल छुन आवश्यक नै पर्दैन।’ हालान्डका दुई गोलले नर्वेलाई दक्षिण अमेरिकी शक्तिशाली टोली ब्राजिलविरुद्ध ऐतिहासिक जित दिलायो।
१९९८ पछि पहिलो पटक विश्वकप खेलेको प्रशिक्षक स्टाले सोलबाकेनको टोली अहिले विश्व च्याम्पियन बन्नबाट केवल तीन जित टाढा छ। अब क्वार्टरफाइनलमा उनीहरूको सामना इंग्ल्यान्डसँग हुनेछ जसले रोमाञ्चक खेलमा मेक्सिकोलाई ३-२ ले पराजित गरेको थियो। तर हालान्डजस्तो खेलको दिशा बदल्न सक्ने खेलाडी भएकाले नर्वेले अब जुनसुकै कुरा सम्भव ठान्न थालेको छ।
पूर्व इंग्ल्यान्ड कप्तान वेन रुनीले भने,‘हालान्डले सम्पूर्ण नर्वेली जनतालाई यो प्रतियोगितामा धेरै टाढासम्म पुग्न सकिन्छ भन्ने विश्वास दिलाएका छन्।’
नर्वेका लागि हालान्डको अविश्वसनीय तथ्यांक
हालान्डले यसअघि अन्तर्राष्ट्रिय फुटबलमा मोल्डोभाविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए भने पाँच पटक ह्याट्रिक पनि गरिसकेका छन्। पूर्व इंग्ल्यान्ड डिफेन्डर गेरी नेभिलले भने,‘हालान्ड एउटा विशाल व्यक्तित्व हुन्। पहिले भनिन्थ्यो कि उनले विश्वस्तरमा आफूलाई प्रमाणित गरेका छैनन्। अब त्यो बहस समाप्त भएको छ।’
हालान्डले वास्तवमै विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा आफूलाई प्रमाणित गरेका छन्। चार खेलमा सात गोल गर्नु यसको प्रमाण हो। समूह चरणमा उनले इराक र सेनेगलविरुद्ध दुई-दुई गोल गरेका थिए। त्यसपछि फ्रान्ससँगको खेलमा नर्वेले १० खेलाडी परिवर्तन गर्दै उनलाई विश्राम दिएको थियो, जहाँ टोली ४-१ ले पराजित भएको थियो।
तर त्यो निर्णय सफल साबित भयो। किनभने ब्राजिलविरुद्धको दुई गोलअघि उनले अन्तिम-३२ मा आइभोरी कोस्टविरुद्ध निर्णायक गोल गरेका थिए। हालान्डले नर्वेका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरेका छन्। औसतमा उनी प्रत्येक ७१ मिनेटमा एक गोल गर्छन्। अझ उल्लेखनीय कुरा के भने तीमध्ये केवल ६ गोल मात्र पेनाल्टीबाट आएका छन्।
अब उनले नर्वेका लागि लगातार १४ प्रतिस्पर्धात्मक खेलमा गोल गरेका छन् र यस अवधिमा २७ गोल गरेका छन्। प्रतिस्पर्धात्मक खेलमा उनले नर्वेका लागि गोल गर्न नसकेको अन्तिम खेल सन् २०२४ को अक्टोबरमा अस्ट्रियाविरुद्धको नेसन्स लिग खेल थियो।
गाब्रियलमाथि हालान्डको निर्णायक विजय
खेलअघि ब्राजिल तथा आर्सनलका सेन्टर-ब्याक गाब्रियलसँग हालान्डको प्रतिस्पर्धाबारे निकै चर्चा भएको थियो। प्रिमियर लिगबाट सुरु भएको यो प्रतिस्पर्धाको पछिल्लो अध्यायमा भने अन्तिम मुस्कान हालान्डकै रह्यो।
पहिलो हाफमा गाब्रियलले हालान्डलाई लगभग नियन्त्रणमा राखेका थिए। हालान्डले पेनाल्टी क्षेत्रभित्र केवल एक पटक मात्र बल छोएका थिए। तर खेल खुल्दै जाँदा हालान्डका लागि ठाउँ पनि खुल्यो र ब्राजिलले त्यसको ठूलो मूल्य चुकायो।
पहिलो गोलमा हालान्डले हेडरमार्फत गाब्रियललाई उछिने। दोस्रो गोलमा त गाब्रियल केवल दर्शक बने। पूरै खेलमा हालान्डले जम्मा ३० पटक मात्र बल छोए, जुन पहिलो हाफपछि परिवर्तन गरिएका टोलीका अर्का खेलाडी एन्टोनियो नुसासँग बराबर थियो। उनले केवल १३ वटा पास पूरा गरे।
पूर्व आर्सनल डिफेन्डर म्याट अप्सनले भने,‘के हालान्डले कहिल्यै धेरै पटक बल छुन्छन् र? खासै होइन। उनी यस्तै खेल्छन्। तर निर्णायक क्षणमा उपस्थित हुन्छन्।’
पूर्व लिभरपुल डिफेन्डर स्टेफन वार्नकले थपे,‘मलाई लाग्छ, उनले औसतमा प्रत्येक गोल गर्न १४ पटक मात्र बल छोएका छन्। त्यसले नै उनको विशेषता देखाउँछ।’
हालान्ड स्वयं पनि आफू नयाँ उचाइमा पुगेको विश्वास गर्छन्। उनले भने,‘यो प्रतियोगितामा मैले केही पटक आफ्नो उत्कृष्ट स्तर भेट्टाएको छु। तर बेला-बेलामा म फेरि नयाँ स्तरमा पुग्छु। यदि मलाई एक-दुई अवसर मिल्यो भने प्रायः म गोल गर्छु। यही मेरो काम हो।’ उनले थपे,‘मुख्य कुरा केन्द्रित हुनु र अवसरको सदुपयोग गर्नु हो। पहिलो अवसरमा गोल नगरे पनि अर्को अवसर मलाई प्रायः मिल्छ।’
‘नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिन’
खेल सुरु हुनुअघि नै हजारौँ नर्वेली समर्थकहरू रंगशालाबाहिर भेला भएका थिए। उनीहरू वाइकिङ हेल्मेट लगाएका, ठूला रातो झण्डा बोकेका र प्रतियोगिताभर गुञ्जिरहेको गीत गाइरहेका थिए।
त्यहाँ उत्साह मात्र थिएन, एउटा गहिरो विश्वास पनि थियो। यो टोलीले जुनसुकै प्रतिद्वन्द्वीलाई चुनौती दिन सक्छ। वर्षौँसम्म विश्वस्तरीय खेलाडी उत्पादन गरे पनि नर्वेले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता टेलिभिजनबाट मात्र हेर्नुपरेको थियो।
यो उनीहरूको चौथो विश्वकप सहभागिता मात्र हो र १९९८ पछिको पहिलो हो। यसअघि उनीहरू सन् १९३८ र १९९८ मा अन्तिम-१६ सम्म मात्र पुगेका थिए।
गत मंगलबारसम्म नर्वेले विश्वकपको नकआउट चरणमा कहिल्यै जित निकालेको थिएन। अहिले भने लगातार दुई खेल जित्दै पाँच पटकको विश्व विजेता ब्राजिललाई समेत बाहिर पठाएको छ।
प्रशिक्षक स्टाले सोलबाकेनले भने,‘मैले खेलाडीहरूलाई भनेको थिएँ कि यो ५०-५० को खेल होइन। तर यदि हामीले उत्कृष्ट प्रदर्शन गर्यौँ र निर्णायक खेलाडीले आफ्नो काम गरे भने हाम्रो राम्रो सम्भावना छ। र आज त्यही भयो।’
अन्तिम सिटी बज्नेबित्तिकै हालान्डले समर्थकहरूसँग मिलेर ढोल बजाए र टोलीसँगै प्रसिद्ध ‘भाइकिङ रो’ उत्सव मनाए। हालान्डले भने, ‘आज साँच्चै अविश्वसनीय दिन हो। यो नर्वेको इतिहासकै सबैभन्दा अद्भुत दिनमध्ये एक हो।’
स्टेफन वार्नकले भने,‘उनी अत्यन्त भावुक देखिए,जुन स्वाभाविक पनि हो। उनी क्लब फुटबलमा विश्वकै उत्कृष्ट टोलीमध्ये एकका लागि खेल्छन्। तर नर्वे त्यस्तो ठूलो फुटबल राष्ट्र होइन। अहिले नर्वे आफ्नै इतिहास बनाइरहेको छ र त्यसको केन्द्रमा हालान्ड छन्।’
प्रशिक्षक सोलबाकेनले भने,‘आज सम्पूर्ण नर्वे एउटै डुङ्गामा बसेर अगाडि बढिरहेको छ। यहाँ मात्र होइन, ओस्लोदेखि साना-ठूला सबै शहरमा उत्सव मनाइँदै छ। हाम्रो ‘रोइङ’ उत्सव त्यसैको प्रतीक हो- हामी सबै एकसाथ छौँ। समर्थकका लागि यो अविस्मरणीय गर्मी हो। मलाई लाग्छ, प्रशिक्षकभन्दा समर्थक हुनु अझ रमाइलो छ।’
विश्वकपमा अहिले ‘भाइकिङ रो’ उत्सव चर्चाको विषय बनेको छ। र, नर्वे क्वार्टरफाइनल पुगेपछि आफ्नो वाचा अनुसार वेन रुनीले अब मर्सी नदीमा डुङ्गा चलाउनुपर्ने भएको छ।




