तस्बिर : एफपी
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आज (सोमबार) संयुक्त राज्य अमेरिका जाँदै छन्। इजरायलको प्रधानमन्त्री कार्यालयका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उनी आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
नेतन्याहुले ट्रम्पसँग मंगलबार भेट गर्नेछन्। सोही दिन उनी दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुनेछन्।
नेतन्याहुको कार्यालयले जनाएको छ, ‘प्रधानमन्त्री नेतन्याहुले मंगलबारर ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनुहुनेछ।’
नेतान्यहु र ट्रम्पबिचको यो भेट फेब्रुअरीपछिको पहिलो प्रत्यक्ष भेट हुनेछ। दुई नेता पछिल्लोपटक इरान युद्ध सुरु हुनुभन्दा अघि भेटेका थिए।
उनीहरूबीच निकट सम्बन्ध छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबैभन्दा ठुलो मित्र’ भनेर प्रशंसा गरेका छन्।
इरान सम्झौताबारेको जटिल वार्ताका क्रममा ट्रम्पले यस वर्ष आफ्ना सहयोगी नेतन्याहुमाथि दबाब बढाएपछि पछिल्ला महिनाहरूमा उनीहरूको यो गठबन्धनमा तनाव देखिएको समाचार आइरहेको समयमा नयाँ कार्यक्रम तय भएको हो।


