काठमाडौँ- नेपाल राष्ट्र बैंकले पछिल्ला केही महिनादेखि बढ्दो क्रममा रहेको मुद्रास्फीति आगामी महिनादेखि क्रमशः घट्दै जाने अपेक्षा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले बाह्य कारणले केही समय मुद्रास्फीतिमा दबाब परेको भए पनि आगामी महिनाबाट त्यसको प्रभाव कम हुँदै जाने विश्वास व्यक्त गरे।
राष्ट्र बैंकका अनुसार मुद्रास्फीतिको दबाब क्रमशः कम हुने आकलनका आधारमा आगामी आर्थिक वर्षमा समग्र मूल्यवृद्धि दर ५.५ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएको छ।
मौद्रिक नीतिमा मुद्रास्फीतिमा थप दबाब देखिए आवश्यक नीतिगत तथा मौद्रिक उपाय अवलम्बन गरिने उल्लेख गरिएको छ।
गभर्नर पौडेलले यथेष्ट तरलता र न्यून ब्याजदरको लाभ सार्वजनिक तथा निजी क्षेत्रले अपेक्षित रूपमा उपयोग गर्न नसकेको अवस्था सिर्जना भए वा समष्टिगत आर्थिक स्थायित्वमा चुनौती देखिए मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरिने बताए।
उनले आवश्यकता अनुसार विद्यमान ब्याजदर करिडोरलाई क्रमशः थप साँघुरो बनाउँदै लगिने पनि बताए।




