नेसनल ओपन कलेजको सम्मेलन : स्वास्थ्य व्यवस्थापनलाई संस्थागत बनाउन चार प्रस्ताव पारित

हिमाल प्रेस २३ असार २०८३ १९:३२ | Tuesday, July 7, 2026
12
SHARES
नेसनल ओपन कलेजको सम्मेलन : स्वास्थ्य व्यवस्थापनलाई संस्थागत बनाउन चार प्रस्ताव पारित

काठमाडौँ- स्वास्थ्य सेवा व्यवस्थापनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सरकारी विश्वविद्यालयमा स्वास्थ्य व्यवस्थापनसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनदेखि स्वास्थ्य संस्थामा स्वास्थ्य व्यवस्थापकको अनिवार्य नियुक्तिसम्मका चार प्रस्ताव पारित गर्दै नेसनल ओपन कलेजको १३औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

असार २० गते काठमाडौँस्थित होटल हिमालयमा सम्पन्न सम्मेलनमा नेपाल तथा भारतका गरी १६ जना विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेको कलेजका अनुसन्धान तथा विकासका विभागीय प्रमुख रिमप्रसाद हुमागाईँले बताए। उनका अनुसार  सम्मेलन उद्घाटन भारतको आईआईएचएमआर दिल्लीका निर्देशक प्रा.डा. सुतपा बन्द्योपाध्यायले गरेका थिए। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा मधेश विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका डिनहरू विशेष अतिथिका रूपमा सहभागी थिए।

सम्मेलनमा प्रा. डा. तेज कार्कीले ‘स्वस्थ सहर’, महेन्द्र भुसालले ‘अस्पताल आयोजना’, इन्जिनियर महेश नकर्मीले ‘फोहोर व्यवस्थापन’ तथा इन्जिनियर कपिल गौतमले ‘क्यान्सरजन्य फोहोर व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यसैगरी डा. राम थापाले स्वास्थ्य बिमा, डा. तुला गुप्ताले स्वास्थ्य जनशक्ति, डा. सुवास श्रेष्ठले औषधि व्यवस्थापन तथा मिलन गुरुङ, डा. यज्ञ तिमिल्सिना, प्रा. डा. सुतपा बन्द्योपाध्याय, प्रा. डा. पुनित र प्रा. डा. निधिलगायतले पनि विभिन्न विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रा. डा. यज्ञबहादुर कार्की, डा. मदन पिया तथा विभिन्न अस्पतालका प्रमुख र प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

सम्मेलनले स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रको सुधारका लागि चारबुँदे प्रस्ताव पारित गरेको छ। प्रस्तावअनुसार सरकारी विश्वविद्यालयहरूमा बीएचसीएम एमएचसीएम, पीजीडीएचसीएम र पीएचडी तहका स्वास्थ्य व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्ने, सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा स्वास्थ्य व्यवस्थापन स्नातकलाई अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने, नेपाल, भारत तथा अन्तर्राष्ट्रिय संस्थासँग ‘टुगेदर फर हेल्थ’ अवधारणाअनुसार सहकार्य विस्तार गर्नुपर्ने तथा स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी छुट्टै परिषद् गठन गरी अध्ययन, सेवा, नियुक्ति र पदोन्नतिलाई वैज्ञानिक आधारमा व्यवस्थित गर्नुपर्ने उल्लेख छ।

सम्मेलन समापन काठमाडौँ विश्वविद्यालय, चिकित्साशास्त्र संकायका डिन प्रा. डा. मनोज हुमागाईंको प्रमुख आतिथ्यमा भएको थियो। आयोजकले आगामी वर्ष १४औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ।

यसैबीच, असार २१ र २२ गते नेसनल ओपन कलेजमा ४० जना सहभागीका लागि ‘हेल्थकेयर अपरेसन म्यानेजमेन्ट’ विषयक कार्यशाला पनि सञ्चालन गरिएको थियो। कार्यशालामा प्रा.डा. पुनित, डा. निधि, सहप्राध्यापक कपिल गौतम, सहप्राध्यापक मिलन गुरुङ र सहप्राध्यापक इन्द्रकुमार श्रेष्ठले प्रशिक्षण दिएको हुमागाईँले बताए।

प्रकाशित: २३ असार २०८३ १९:३२ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast