शिक्षामन्त्री पोखरेल भन्छन्- सुकुम्बासी बालबालिकाको पढाइ अवरुद्ध हुन दिँदैनौं

हिमाल प्रेस ३० असार २०८३ १६:३५ | Tuesday, July 14, 2026
8
SHARES
शिक्षामन्त्री पोखरेल भन्छन्- सुकुम्बासी बालबालिकाको पढाइ अवरुद्ध हुन दिँदैनौं

काठमाडौँ- सरकारले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारका विद्यार्थीको पढाइ प्रभावित हुन नदिन विद्यालय आउजाउका लागि स्कुल बसको व्यवस्था गरेको जनाएको छ।

सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय लैजानल्याउन दुईवटा स्कुल बस सञ्चालनमा ल्याइएको जानकारी दिए।

‘सुकुम्बासीहरूको दीर्घकालीन समस्या समाधान नहुन्जेलसम्म विद्यार्थीको पढाइ अवरुद्ध हुन दिँदैनौं। उनीहरूलाई नियमित रूपमा विद्यालय पुर्‍याउने र ल्याउने व्यवस्था सरकारले गरेको छ,’ मन्त्री पोखरेलले भने।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई भक्तपुरको बोडेमा सारिएको थियो। त्यसपछि कीर्तिपुरमा अध्ययनरत विद्यार्थीको विद्यालय आउजाउ कसरी हुने भन्ने चासो बढेपछि सरकारले बसको व्यवस्था मिलाएको हो।

विद्यालय परिवर्तन गर्न चाहने विद्यार्थीका लागि उपयुक्त विकल्पबारे पनि छलफल भइरहेको मन्त्री पोखरेलले बताए। अधिकांश विद्यार्थीले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमै अध्ययनलाई निरन्तरता दिन चाहेको उनको भनाइ छ।

शिक्षा मन्त्रालयका अनुसार खरिपाटीस्थित होल्डिङ सेन्टरमा २१ जना र बोडेमा १८ जना विद्यार्थी रहेका छन्। मन्त्री पोखरेलले सोमबार दुवै होल्डिङ सेन्टर पुगेर विद्यार्थीसँग भेटघाट गर्दै शैक्षिक तथा राहत सामग्री वितरण गरेका थिए। उनीहरूलाई झोला, कापी, कलमसहित खेलकुद सामग्री उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ।

विद्यार्थी र उनीहरूका अभिभावकसँगको भेटमा मन्त्री पोखरेलले सरकार प्रत्येक बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छ। बसाइँसराइ वा विपद्का कारण कुनै पनि विद्यार्थीको पढाइ रोकिने अवस्था आउन दिइने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: ३० असार २०८३ १६:३५ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast