काठमाडौँ- विज्ञानको क्षेत्रमा परिचित डा. चन्द्र गिरीको नयाँ उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ आइतबार काठमाडौँमा आयोजित समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमका वक्ताहरूले उपन्यासले अवैध आप्रवासन, उज्ज्वल भविष्यको खोजीमा जोखिमपूर्ण यात्रा गर्ने युवाको मनोविज्ञान र त्यससँग जोडिएका मानवीय संघर्षलाई जीवन्त रूपमा चित्रण गरेको बताए। उनीहरूले देशको गम्भीर सामाजिक समस्यालाई साहित्यमार्फत उठान गरिएको भन्दै यसले नीतिनिर्माता र सरकारको समेत ध्यानाकर्षण गराउन सक्ने धारणा व्यक्त गरे।
साहित्यकार कृष्ण धरावासीले आफूले यसअघि यही विषयवस्तुमा ‘तल्लो बाटो’ उपन्यास लेखेको स्मरण गर्दै डा. गिरीको कृति अझ बढी अनुसन्धानमा आधारित र विश्वसनीय भएको बताए। ‘मैले केही पात्रहरूसँगको संवादका आधारमा ‘तल्लो बाटो’ लेखेको थिएँ। डा. गिरीले सम्बन्धित स्थानहरूको भ्रमण गरेर प्रत्यक्ष अध्ययनका आधारमा लेख्नुभएको छ, त्यसैले यो कृति अझ आधिकारिक बनेको छ’, उनले भने।
लेखक डा. चन्द्र गिरीले कोलम्बियाको नेकोक्ली सहरमा डङ्की रुट हुँदै अमेरिका जाने तयारीमा रहेका नेपाली युवासँग भेट भएपछि उपन्यास लेख्ने प्रेरणा प्राप्त भएको बताए। लेखनका क्रममा तथ्य, अनुसन्धान र वास्तविक अनुभवलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो। उनका अनुसार ‘डङ्की’ केवल सीमा पार गर्ने जोखिमपूर्ण यात्राको कथा होइन, यो सपना, आशा, साहस, निराशा र आत्मसम्मानका लागि संघर्ष गरिरहेका मानिसहरूको कथा पनि हो। ‘संसारका विभिन्न मुलुकमा भेटिएका नेपाली तथा अन्य आप्रवासीहरूको अनुभवले यो उपन्यास लेख्न प्रेरित गर्यो’, उनले भने।
उपन्यासमा इलामका एक युवाले अमेरिका पुग्ने उद्देश्यले रोजेको डङ्की रुट र त्यस क्रममा उसले भोगेका जोखिम, संघर्ष तथा अनुभवलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ। बुकहिल पब्लिकेसनबाट प्रकाशित यो डा. गिरीको तेस्रो पुस्तक हो। यसअघि उनका ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन्।




