पृथ्वीको पश्चिमी-उत्तरी गोलार्धमा पर्ने उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका धेरै देशका नागरिकका लागि सपना हो। त्यही देश छिर्ने ‘कालबाटो’ को कहरलाई ‘डङ्की : सपनाको कालबाटो’ उपन्यासमार्फत डा. चन्द्र गिरीले उजागर गरेका छन्।
दक्षिण एसियाली मुलुक नेपालको ठिक विपरीत ध्रुवमा रहेको अमेरिका आमनेपालीका लागि पनि आकर्षणको देश हो। जहाँ आर्थिक सम्पन्नता छ, सामाजिक स्वतन्त्रता छ, अवसर खोजेर मेहनतको डुंगा खियाउँदै अग्रगामी छलाङ मार्ने सम्भावना छ। जहाँ एउटा इलम गरेर अघि बढ्दा आफ्नो र आफ्नो सन्तानको उज्वल भविष्यको मार्गचित्र कोर्न सकिने सम्भावना पनि छ।
नेपालको आर्थिक अवस्था दह्रो नहुँदा मुलुकले सामाजिक, आर्थिक सुरक्षा ग्यारेन्टी गर्न सकेको छैन। अमेरिकामा कानुनको शासन छ। हाम्रोमा मनलाग्दी छ। त्यहाँ बेथिति छैन भन्ने होइन तर एउटा आममान्छेले आफ्नो परिधिमा बसेर सापेक्षित आनन्दको फाइदा उठाउँदै आफ्नो वृत्तिविकास गर्न कुनै रोकटोक छैन। विश्वको शीर्ष अर्थतन्त्रमा रहेको अमेरिकामा नियममा बस्दा कसैले सताउँदैन, आरामले घरगाडी बनाउन सकिन्छ, जुन नेपालको अर्थतन्त्रले दिन सकेको छैन।
त्यही भएर सचिव तहसम्म पुगेका सरकारी कर्मचारी, प्रहरी र सेनाका उच्च तहमा पुगेका व्यक्तिहरूदेखि आमसर्वसाधारण अमेरिका जान मरिहत्ते गर्छन्। डाक्टर, नर्स, आईटी विज्ञको त झन् कुरै भएन। विद्यार्थीलाई पनि अवसरको खानी भएको छ, अमेरिका। तर सबैले अमेरिका जाने अवसर पाउँदैनन्। सबैको डीभी पर्ने ‘भाग्य’ हुँदैन। परेको डीभीमा पनि सबैको भिसा आउँदैन। तर पनि सबैलाई अमेरिका नै जानु छ।
अमेरिका पुग्ने वैध र औपचारिक बाटो नहुनेले अनौपचारिक र जोखिमको बाटो रोज्छन्। तिनीहरू राजनीतिक र सामाजिक पक्षपातको कथा बुनेर अमेरिका छिर्न चाहन्छन्। कोही राजनीतिक अपहेलनाको कर्खा गाउँछन्, कोही समाजिक अपहेलनाको विरह भाक्छन्। माथ्लो बाटो अमेरिका छिर्न सकस भएका तिनले तल्लो बाटो रोज्छन्, जो डङ्की रुटको नामले कुख्यात छ।
डङ्की शब्द पञ्जाबी र अंग्रेजीको ठिमाहा रूपमा विकास भएको हो। पञ्जाबी भाषामा डङ्की भन्नाले एक ठाउँबाट अर्को ठाउँमा भ्यागुताले जस्तै उफ्रिँदै जानु हो, जुन शब्द गैरकानुनी रूपमा विदेश जाने मार्गका लागि प्रयुक्त हुन थालेको छ।
नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएर वन प्राविधिकका रूपमा प्रशिक्षित डा. चन्द्र गिरीले अमेरिकालाई कर्मथलो बनाएको थुप्रै वर्ष भइसक्यो। रिमोट सेन्सिङ र जीआईएसको विज्ञता र वातावरण तथा विज्ञानका क्षेत्रमा लागेका कारण उनले अमेरिकी सरकारको उच्च तहसम्मको यात्रा गरिसकेका छन्। वैज्ञानिकका रूपमा उनले एक सय २५ भन्दा बढी देशको भ्रमण पनि गरिसकेका छन्।
यात्राले मानिसलाई धेरै कुरा सिकाउँछ अनि भोगाउँछ पनि। डा. गिरीले पनि यात्रामा धेरै देखे, भोगे र सिके। कामका क्रममा उनी एक पटक ल्याटिन अमेरिकी देश कोलम्बियाको उत्तरी भेगमा रहेको एउटा सानो बजार नेकोक्ली पुगेका थिए। त्यहाँ उनले सयौँ आप्रवासीको भीड देखे। तिनीहरू सबै अमेरिका हिँडेका थिए। तर त्यो हिँडाइ एकदुई दिन वा एकदुई सातामा पूरा हुने खालको थिएन। किनभने अमेरिका त्यहाँबाट पाँच हजार किलोमिटर पर छ र त्यसअघि घना र खतरनाक जंगल पार गर्नुछ, ज्यान जोखिममा परेर खोला तर्नुछ।
नेकोक्लीको समुद्रमा दिनको दुईवटा मात्र फेरी चल्ने हुँदा पालो नआउन्जेल सबै त्यहाँ कुर्दा रहेछन्। पालो पर्खँदै नेकोक्लीको समुद्री तटमा लहरै टाँगिएको अस्थायी टेन्टमा लेखक गिरीले केही नेपाली युवा पनि भेटे। उनीहरूको कथाले उनलाई विचलित बनायो। त्यसअघि उनले तल्लो बाटो अमेरिका छिर्ने डङ्की रुटबारे पढेका थिए, सिनेमा र डकुमेन्ट्री हेरेका थिए। तर यथार्थ आफ्नै आँखाले देखेपछि मनमा परेको आघात उनले सजिलै भुल्न सकेनन्। सपनामा पनि ती कालबाटोको कोकोहोलाले उनलाई छोडेन।
गाउँठाउँका मान्छे लाखौँ खर्च गरेर हिँडेका छन्। कोही शिक्षक छन्, कोही राम्रै लेखपढ गरेर राम्रै पेसामा छन्, कोही स्कुल तहको पढाइ मात्रै पास गरेका छन्। ती यस्तो यात्रामा निस्किएका छन्, जहाँ पछाडि फर्किने सम्भावना छ्रैन। ती आफू हिँडेको बाटो भत्काउँदै अगाडि बढिरहेका छन्। तीसँग न पासपोर्ट छ, न पैसा। फर्किन्छु भन्दा पनि फर्किन पाइने अवस्था छैन। अझ ती आफ्नो इच्छाले हिँड्न पाउँदैनन्, दलालले जता भन्छ त्यतै जानुपर्छ। उसले जे खा भन्छ, त्यही खानुपर्छ। उसले जुन गाडीमा चढ् भन्छ त्यसैमा चढ्नुपर्छ। जिन्दगी नै दलालको भरमा चल्छ।
अवस्था कस्तो भने अनेक ठाउँमा दुःख पाएर मान्छे मानसिक रूपले क्षतविक्षत भएको छ। कति ठाउँ लुटिएका छन्, कति ठाउँ लिसको थुनामा परेका छन्। जंगलको बाटोमा न राम्रो खान पाउँछन्, न राम्ररी सुत्न। यी सब अवस्थाले मान्छेलाई शारीरिक र मानसिक रूपमा क्लान्त बनाइदिएको हुन्छ। तर पनि उनीहरू केमा दृढ छन् भने- म जसरी पनि अमेरिका पुग्नेछु।
नेकोक्लीमा त्यो विरह देखेर गिरी भारी मनले अमेरिका फर्किए। मनको अवसादलाई सिर्जनामार्फत पोख्ने विचार गरे। उनले त्यो यात्रा विवरणलाई एउटा नियात्रामार्फत प्रस्तुत गरे। मनमा केही सन्तोक भएझैं भयो।
त्यसको केही समयमा क्यालिफोर्नियामा तल्लो बाटो भएर अमेरिका छिरेका एक जना नेपालीसँग उनको भेट भयो। तिनको कथा पनि मार्मिक थियो। कालबाटोको लेख लेखेर हलुका भएँ भन्ठानेका गिरीको मनमा कालबाटोको त्यो मार्मिक कथाको भुमरी चल्न थाल्यो।
डङ्की रुटबाट आउनेहरू दुर्घटनामा परेर हताहती भएको खबर मिडियामा आउँदा त्यो बाटोको भूतले उनलाई तर्साइरहन्थ्यो। यता उनको काम चलिरहेको थियो। उता लेख-निबन्ध पनि लेखिरहेका थिए। तर घरीघरी डङ्कीको विषयले घोच्न थालेपछि उनलाई लाग्यो- यसबारेमा केही न केही त लेख्नैपर्छ।
के लेख्ने, कसरी लेख्ने भन्ने विषयमा उनले गहिरोसँग सोच्न थाले। उनले दक्षिण अमेरिका चहारेका थिए। अमेरिका आफ्नै कर्मथलो भइहाल्यो। अमेरिका-मेक्सिको सीमा क्षेत्र पनि घुमेका थिए। युरोप कैयौँपल्ट पुगेका थिए। अफ्रिकाका धेरै देश घुमेका थिए। नेपाल र अमेरिकाको सामाजिक-आर्थिक-राजनीतिक स्थितिबारे केही न केही जानकारी थियो नै। अनि उनलाई लाग्यो ज्यानै जोखिममा पारेर अमेरिका आउने चाहनेको कथा लेखिनु सामाजिक न्यायका दृष्टिले पनि उचित छ। त्यसपछि उनले डङ्की रुटबाट अमेरिका पुगेकाहरूसँग एक चरण लामो कुराकानी गरे। पहिलो पटक तीनको कुरा सुन्दा आग्रह-पूर्वाग्रह पनि मिसिएको थियो होला। यस पटक भने द्रष्टा भावले सबैको कुरा सुने। कुराकानीलाई उतार्दै गए। दस-बाह्र जनाको कहानीलाई विपस्वी भावले हेर्दा उनलाई लाग्यो- यी कथा भनिन लायक छ।
उनले यस विषयमा कहाँ के सामग्री उपलब्ध हुन सक्छ भनी सामग्री संकलन गर्न थाले। आफू एड्जङ्क्ट प्रोफेसर भएको ड्युक विश्वविद्यालयको पुस्तकालयको स्रोतको पनि उपयोग गरे। केही मार्मिक लेख भेटे। केही जर्नल आर्टिकल पाए। नेपाली साहित्यमा भने जमानामा तारानाथ शर्माको पाताल प्रवास पढेका थिए। राजवका डायस्पोरिक कथा, उपन्यास पनि पढेका थिए। पछिल्लो समयमा भने यसबारेमा केही फुटकर लेख पाए भने आख्यानमा कृष्ण धरावासीको ‘तल्लो बाटो’ र पदम विश्वकर्माको ‘पाताल’ पाए। यही विषयमा बनेको बलिउड फिल्म ‘डङ्की’ पनि हेरे। सीएनएन र सीबीएस च्यानलले डङ्की रुटका बारेमा बनाएका डकुमेन्ट्री पनि हेरे।
अध्ययनको एउटा चक्र पूरा भएपछि उनको मनमा एउटा कथाले आकार लियो। आफूले परिकल्पना गरेको कथाको खाकामाथि उनले एक चरण समीक्षा गरे। सो समीक्षामाथि पुनर्विचार गर्दै कथाको एउटा रेखा बनाए। अनि कथा लेख्न बसे।
समयक्रममा कथा सकियो। त्यसक्रममा केही परिघटना थपिए। केही हटाइए। केही पात्र थपिए। केही हटाइए। आफ्नो तर्फबाट पहिलो खेस्रा बन्यो भन्ने लागेपछि केही साथीलाई देखाए। केही सुधारका सुझाव पाए। उनलाई सन्तोष केमा लाग्यो भने उनको मूल कथाको प्रवाहलाई सबैले मन पराएका थिए। साथै, जुन परिघटना र पटकथा पाठकलाई मार्मिक लाग्ला भन्ने सोचेका थिए, सोही मुताविकको टिप्पणी पाए। आएका टिप्पणीहरूमाथि काम गर्नुअघि उनले आफूले अन्तरवार्ता गरेका पात्रहरूको कथालाई फेरि पढे। आफूसँग भएको लेख, किताब र जर्नलहरूलाई सरसर्ती दोहोर्याए। एक झमट फिल्म र डकुमेन्ट्री पनि भ्याए। त्यसपछि उनी पुनर्लेखनका लागि बसे।
पहिलो खेस्रा लेख्दा उनी गतिशील भएर काम गरेका थिए भने पुनर्लेखनमा धैर्यपूर्वक काम गरे। यसपटक उनलाई पलिलो लेखनमा भन्दा केही बढी समय लाग्यो। परिमार्जन सकिएपछि दुई तीन जना विज्ञलाई फेरि पढ्न दिए। यसपटक उनले आख्यान बुझेका र भाषाको पकड भएका मित्रहरूको साथ लिए।
उनीहरूको सुझावपछि उनले त्यसलाई अन्तिम साफी गरेर प्रकाशकलाई बुझाए। समय क्रममा ‘डङ्कीः सपनाको कालबाटो’ विमोचित भयो। विमोचन समारोहमा यही विषयमा उपन्यास लेखिसकेका आख्यानकार कृष्ण धरावासीले भने, ‘मैले त डङ्की रुट हुँदै अमेरिका पुगेका केही व्यक्तिहरूसँग कुराकानी गरेर उपन्यास तयार पारेको थिएँ। तर डा. गिरीले डङ्की रुटको केही भागको यात्रा गरेर राम्रो अनुसन्धानपछि लेख्नुभएको छ। यो मैले लेखेको भन्दा पनि आधिकारिक छ।’
धरावासीको सो सदाशयपूर्ण अभिव्यक्ति कति ठिक छ भन्ने खुट्याउने अवसर पाठकलाई छँदैछ। ‘डङ्की’ले तल्लो बाटो अमेरिका छिर्ने नारकीय यात्राको सूक्ष्म विवरण प्रस्तुत गरेको छ। सपनाको भारी बोकेर तेस्रो मुलुकबाट अमेरिका छिर्ने उत्साह बोकेका निरिह मानिसको दशा कस्तो हुन्छ, कुन भुमरीको लहरमा लहरिँदै अमेरिका पुग्न्छि भन्ने रौं ठाडो पार्ने विवरण र ठाउँ ठाउँमा मुटुमा गाँठो पर्ने कथानकले उपन्यासलाई एउटा चलचित्र जस्तै बनाएको छ।
‘डङ्की : सपनाको कालबाटो’ ले अमेरिका छिर्ने अवैध मार्गको रोमाञ्चक कथा भन्छ। यसमा सपनाको मूल्य, बाध्यता, जोखिम र मानवीय सहनशीलताको गहिरो चित्र पनि कोरिएको छ। तेस्रो मुलुक हुँदै अमेरिका पुग्ने यात्रुको शारीरिक र मानसिक पीडालाई उपन्यासले जीवन्त रूपमा प्रस्तुत गरेको छ। अनुसन्धानमा आधारित यथार्थ र आख्यानको कलात्मक संयोजनले यस कृतिलाई समकालीन नेपाली डायस्पोरिक साहित्यमा उल्लेखनीय बनाएको छ।


