काठमाडौँ- बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मंगलबार साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ।
जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकास भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ।
आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन्।
कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै रहेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ।


