काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन्।
इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।
उनले भने, ‘विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायत विविधतालाई पनि बिर्सन हुँदैन। वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्नेगरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई तीब्र रुपमा अघि बढाउनु आवश्यक छ।’
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरे।
उनले भने, ‘यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजना प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ। हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ।’
राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिएमात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे।

