कांग्रेसले बीपी सम्झियो, मेलमिलाप बिर्सियो

हिमाल प्रेस ६ साउन २०८३ २१:४४ | Wednesday, July 22, 2026
16
SHARES
कांग्रेसले बीपी सम्झियो, मेलमिलाप बिर्सियो

साउन ६ गते। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औँ स्मृति दिवस। हरेक वर्षझैँ यस वर्ष पनि नेपाली कांग्रेसले उनको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाएको छ। तर यसपटकको दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ। त्यो हो- बीपीको नाम लिने कांग्रेस स्वयं दुई धारमा विभाजित भएर छुट्टाछुट्टै कार्यक्रम गर्नु। एउटै नेता, एउटै आदर्श, एउटै इतिहास तर श्रद्धाञ्जलि दुई ठाउँबाट।

बीपी स्मृति दिवसका अवसरमा उनको जीवन, विचार र राजनीतिक दर्शनमाथि गम्भीर बहस हुनुपर्ने अपेक्षा थियो। यसपटक पनि त्यो अवसर औपचारिकतामै सीमित भयो। बीपीले परिकल्पना गरेको राष्ट्रिय मेलमिलाप, प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक संस्कार र समाजवादतर्फको यात्रालाई कसरी व्यवहारमा रूपान्तरण गर्ने भन्ने विषयमा कुनै गहन विमर्श देखिएन। नेताहरूले उनको तस्बिरमा माल्यार्पण गरे, भाषण गरे, तर उनको विचारलाई वर्तमान राजनीतिक चुनौतीसँग जोडेर अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सकेनन्।

संस्थापन पक्षले दौड प्रतियोगिता, पुष्पाञ्जलि र औपचारिक कार्यक्रममार्फत बीपीलाई सम्झियो। इतर पक्षले भने समानान्तर कार्यक्रम गर्दै संस्थापन नेतृत्वमाथि तिखा राजनीतिक प्रहार गर्नमै बढी समय खर्चियो। दुवै पक्षका कार्यक्रममा बीपीको नाम धेरै सुनियो, तर बीपीको विचार कम सुनियो। श्रद्धाञ्जलिभन्दा बढी आन्तरिक शक्ति प्रदर्शन र गुटीय प्रतिस्पर्धाको दृश्य देखियो।

सभापति गगनकुमार थापाले जलवायु परिवर्तनजस्तो समकालीन विश्वव्यापी चुनौतीलाई बीपीको राजनीतिक चिन्तनसँग जोड्ने प्रयास भने गरे। बदलिँदो समयअनुसार बीपीका विचारलाई नयाँ सन्दर्भमा व्याख्या गर्ने त्यो प्रयास उल्लेखनीय देखिन्छ। अर्कोतर्फ पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेताहरूले बीपीको नाम लिँदै अधिकांश समय सभापति थापाको आलोचनामै केन्द्रित गरे। उनीहरूको अभिव्यक्तिमा मेलमिलापभन्दा गुटीय असन्तुष्टि बढी मुखर देखियो।

वास्तवमा बीपीको स्मृति दिवसले कांग्रेसलाई आत्मसमीक्षा गर्ने अवसर दिनुपर्ने थियो। त्यो अवसर पनि आरोपप्रत्यारोप, शक्ति प्रदर्शन र आन्तरिक ध्रुवीकरणमै सीमित भयो। राष्ट्रिय मेलमिलापका प्रवर्तकको स्मृति दिवसमा स्वयं कांग्रेसभित्र मेलमिलापको संकेतसमेत नदेखिनु सबैभन्दा ठूलो विडम्बना हो।

हुन त कांग्रेसको इतिहासमा यो पहिलो घटना भने होइन।

राणा शासन अन्त्य गर्न आठ दशक अघि नै दुई कांग्रेस ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ जन्मिएको पढ्न पाइन्छ। यो दुई कांग्रेस एक भएर नै २००६ चैत २७ मा अहिलेको ‘नेपाली कांग्रेस’ बनेको हो। राष्ट्रिय कांग्रेसमा क्रान्तिकारी जमातको परिचय थियो भने प्रजातन्त्र कांग्रेसमा राणा र तिनैसँगै जोडिएका भारदार सक्रिय थिए।

असी वर्षअघि पार्टी खुल्दै गर्दा युवामा जोसका साथ सहकार्यको भाव, मानसम्मान र आत्मीयता थियो। त्यो बेलामा पनि कांग्रेसभित्र स्वच्छ वादविवाद प्रशंसनीय थियो। कांग्रेसको निर्देशित सिद्धान्त नै त्यही थियो- सैद्धान्तिक मतभेद र वादविवाद गर्नु लोकतान्त्रिक संस्कार हो भने दलको मौलिक अधिकार। त्यही अधिकारमा अडेको कांग्रेस २०५९ सालमा विभाजित भयो।

कांग्रेस विभाजन भयो तर त्यो स्थायी रहेन। किनभने दुवैको मस्तिष्कमा बीपी थिए। उनी भौतिक रूपमा मात्र होइनन् विचारले पनि अग्ला थिए। विचार, सिद्धान्त र विद्वत्ताले अग्ला थिए। सोही कारण लामो समय कांग्रेस छुट्टिएर रहन सकेन र एकै रूखको ओतमा जम्मा भए। कलशलाई रूखको फेदमा राखे।

त्यसैले आजको दृश्य कांग्रेसको आन्तरिक विवाद प्रमुख होइन। बीपीले जीवनभर प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको दर्शनलाई सम्झिने कि उनका तस्बिरमा फूल चढाएर सीमित हुने भन्ने प्रश्न पनि हो।

उनको यो पावन स्मृतिमा नेपाली कांग्रेस दुई भिन्न समूहमा विभाजित भएर छुट्टाछुट्टै कार्यक्रम गरेका छन्। इतिहास दोहोरिए जस्तो लाग्छ- २०५९ सालमा पनि कांग्रेस विभाजित भएको थियो, शेरबहादुर देउवा नेतृत्वको समूह भिन्न भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेको थियो। २०६४ मा दुवै पक्ष एकीकृत भयो। आज फेरि त्यही विभाजनको घाउ देखिन्छ।

कांग्रेसका संस्थापक र विचारक बीपीले जीवनभर जुन बाटो देखाएका थिए, त्यो विभाजन होइन, राष्ट्रिय मेलमिलाप थियो। व्यक्तिगत स्वार्थ, सत्ता र पदभन्दा माथि उठेर देश र लोकतन्त्रका लागि एकजुट हुनुपर्ने उनको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ। उनको निधन भएको ४४ वर्षपछि पनि उनको यो आह्वानले कांग्रेसका कार्यकर्तालाई प्रश्न गरिरहेको छ- के हामी उनको सपनालाई साकार पार्न सक्छौँ?

बीपीले आफ्नो जीवनको अन्तिम राजनीतिक यात्रामा दिएका सन्देशहरू आज झन् बढी सान्दर्भिक देखिन्छन्। उनले मेलमिलापको कुरा कुनै व्यक्तिगत सम्झौताका लागि गरेका थिएनन्। न त त्यो सत्ता प्राप्तिको रणनीति थियो। त्यो नेपालको अस्तित्व, राष्ट्रिय एकता र लोकतन्त्रलाई एउटै सूत्रमा बाँध्ने दूरदर्शी राजनीतिक अवधारणा थियो।

आज पनि नेपालको राजनीति दलगत ध्रुवीकरण, अविश्वास र व्यक्तिगत प्रतिस्पर्धाले ग्रस्त देखिन्छ। यस्तो बेला बीपीको राष्ट्रिय मेलमिलाप इतिहासको पाना होइन, भविष्यको दिशासूचक बन्न सक्छ।

नटिकेको दुईतिहाई

२०१५ को पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेको थियो। त्यससँगै विश्वेश्वरप्रसाद (बीपी) कोइराला देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। जनताले परिवर्तनको आशा गरेका थिए। लोकतन्त्रले संस्थागत रूप लिने विश्वास बढेको थियो। तर त्यो यात्रा धेरै लामो टिकेन।

२०१७ साल पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरे, संविधान निलम्बन गरे, राजनीतिक दलमाथि प्रतिबन्ध लगाए र प्रधानमन्त्री बीपीसहित लोकतान्त्रिक नेतृत्वलाई गिरफ्तार गरे। जनमतमाथि शाही शक्तिको प्रभुत्व कायम भयो।

त्यसपछि सुरु भएको थियो बीपीको जीवनको सबैभन्दा कठिन अध्याय। अनि नेपाली कांग्रेसको त्यो कठिन यात्रा भोग्दै देशमा राजाको एक दलीय शासनको विरोधमा आवाज उठाइरह्यो। जेलबाट मुक्त भएपछि पनि स्वतन्त्रता प्राप्त भएन। उनी भारत निर्वासनमा गए र त्यहाँ पनि अर्को आठ वर्ष बिताए। सामान्य राजनीतिज्ञका लागि यो अन्तिम अध्याय हुन सक्थ्यो। बीपीका लागि यही समय उनको राजनीतिक चिन्तन अझ परिपक्व बन्ने काल बन्यो। उनले नेपालभित्र मात्र होइन, दक्षिण एसियाको बदलिँदो राजनीति, भारत–चीन सम्बन्ध, शीतयुद्धको प्रभाव र साना मुलुकहरूको चुनौतीलाई नजिकबाट नियालिरहेका थिए।

भारतको बदलिँदो राजनीति र बीपीको बढ्दो चिन्ताले गर्दा भारतमा निर्वासन बिताइरहेका बीपी सुरुमा अपेक्षाकृत सुरक्षित थिए। तर सन् १९७५ ले दक्षिण एसियाको राजनीति बदलिदियो। प्रधानमन्त्री इन्दिरा गान्धीले देशभर आन्तरिक आपत्काल घोषणा गरिन्। विपक्षी नेताहरू गिरफ्तार भए। प्रेसमाथि नियन्त्रण गरियो। लोकतान्त्रिक स्वतन्त्रतामाथि अंकुश लाग्यो।

४९ वर्षअघिको त्यो साहसी फिर्ती

सन् १९७६ को डिसेम्बर ३०। पटनाबाट उडेको विमान बिहान साढे ११ बजे काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण भयो। विमानमा थिए बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं र खुमबहादुर खड्का। आठ वर्ष लामो भारत निर्वासनपछि उनीहरू स्वदेश फर्किँदै थिए।

बीपीले १९६० मा राजा महेन्द्रले गरेको राजकीय कदमपछि आठ वर्ष जेल र आठ वर्ष भारतमा निर्वासन बिताएका थिए। त्यतिबेला भारतमा इन्दिरा गान्धीको आपत्काल चलेको थियो। बीपी इन्दिराको कांग्रेसभन्दा बढी जयप्रकाश नारायणजस्ता समाजवादी नेताहरूसँग नजिक थिए। इन्दिराले पाकिस्तान विभाजन गरी बंगलादेश जन्माएकी थिइन् र सिक्किमलाई भारतमा विलय गराएकी थिइन्। त्यसले दक्षिण एसियाको भूराजनीति जटिल बनाएको थियो।

नेपालमा सन् १९७३ जुनमा नेपाली कांग्रेसका कार्यकर्ताले विराटनगरबाट काठमाडौँ उड्ने शाही नेपाल वायुसेवाको विमान अपहरण गरेका थिए। ३० लाख रुपैयाँ बोकेको विमान भारत पुर्‍याएर पैसा कब्जा गरी विमान नेपाल फर्काइएको थियो। दुई वर्षपछि भारतमा आपत्काल लाग्यो र १९७६ जुनमा जर्ज फर्नान्डिस पक्राउ परे। उनीमाथि डायनामाइट विस्फोट र विध्वंसको आरोप थियो।

अपहरणबाट आएको रकमबाट हतियार किनेर नेपालमा सशस्त्र हमला गरेको चर्चा चलेको थियो। यी सबै घटनाले बीपीलाई भारतमा बस्न गाह्रो बनाएको थियो। उनको बिग्रँदो स्वास्थ्य, ढल्कँदो उमेर र ‘मर्नै परे आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने भावनाले स्वदेश फर्किन प्रेरित गर्‍यो। केहीले उनलाई चीनको बढ्दो प्रभाव रोक्न नेपाल फर्कन लागेको पनि भने। तर बीपीको मुख्य कारण थियो- राष्ट्रिय संकटमा देशको अस्तित्व जोगाउने।

बीपीले यी सबै घटनालाई छिमेकी देशका राजनीतिक घटनाका रूपमा हेरेनन्। उनले यसलाई नेपालको भविष्यसँग जोडेर हेरे। उनलाई लाग्न थाल्यो- नेपालभित्र राष्ट्रिय सहमति नबने बाह्य शक्ति प्रतिस्पर्धाले देशलाई झन् कमजोर बनाउन सक्छ। यही सोचले पछि राष्ट्रिय मेलमिलापको दर्शनलाई जन्म दियो।

दक्षिण एसियाको भूराजनीति पनि तीव्र गतिमा परिवर्तन भइरहेको थियो। इन्दिरा गान्धीले पाकिस्तान विभाजित गराई बंगलादेश बनाउन सफल भएकी थिइन्। स्वतन्त्र सिक्किम भारतमा विलय भइसकेको थियो। नेपालमा पनि चीनको प्रभाव विस्तार हुँदै गएको थियो। भारत आफ्नै सुरक्षा चिन्तामा थियो। अनि मेलमिलापको विषय आएको थियो।

बीपीको नेपाल फिर्तीको सबैभन्दा महत्त्वपूर्ण दस्तावेज पटनाबाट जारी गरिएको उनको वक्तव्य हो। त्यसमा उनले लेखेका थिए, ‘हाम्रो देश अहिले राष्ट्रिय संकटमा छ। हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति थियो। आज त्यसमा अर्को आयाम थपिएको छ। नेपाली कांग्रेसलाई देशको अस्तित्वसमेत रक्षा गर्ने दोहोरो जिम्मेवारी आइपरेको छ।’ अहिले पनि अवस्था त्यस्तै छ तर अहिले कांग्रेस एक छैन।

बीपीले प्रजातन्त्र र राष्ट्रिय सुरक्षालाई एउटै वाक्यमा जोडेर देश रक्षाका लागि सबैलाई एकबद्ध पारेका थिए। लोकतन्त्र कमजोर भयो भने राष्ट्रिय स्वतन्त्रता पनि कमजोर हुन्छ भन्ने उनले राम्ररी बुझेका थिए। उनले साथै राष्ट्र कमजोर भयो भने कुनै पनि राजनीतिक व्यवस्था सुरक्षित रहँदैन भन्ने कुरामा अडेर उनले त्यो बाटो रोजेका हुन्। उनी राजासँग सम्झौता गर्न होइन, राष्ट्रिय सहमतिको प्रस्ताव लिएर फर्किरहेका थिए।

गिरफ्तारी, जेल र अन्तर्राष्ट्रिय दबाब

विमानबाट झर्नेबित्तिकै बीपी र उनका सहयोगीहरूलाई गिरफ्तार गरियो। साँझ राष्ट्रिय समाचार समितिले नियन्त्रणमा लिइएको औपचारिक सूचना जारी गर्‍यो। उनीहरूलाई
सुन्दरीजल जेलमा राखियो। प्रधानमन्त्री डा. तुलसी गिरी र राजा वीरेन्द्र पोखरामा थिए। अमेरिकी दूतावासका तारअनुसार सुरुमा उनीहरूलाई कहाँ राखिएको छ भन्ने थाहा थिएन। केहीले राजासामु पुर्‍याइएको, केहीले स्थानीय जेलमा राखिएको चर्चा थियो।

यहीँबाट बीपीको जीवनको अर्को ऐतिहासिक अध्याय सुरु भयो जसले नेपालको राजनीति मात्र होइन, भारत, अमेरिका र अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तको ध्यान पनि काठमाडौँतर्फ मोडिदियो।

पञ्चायत पक्षले भारतले अस्थिरता निम्त्याउन बीपीलाई पठाएको आरोप लगाए पनि अमेरिकी विश्लेषणले त्यस्तो प्रमाण नभएको निष्कर्ष निकालेको थियो। बीपीविरुद्ध राजकाज मुद्दा लगाइयो। उनलाई कुनै कानुनी उन्मुक्ति नदिइने स्पष्ट थियो। तर परिस्थिति बदलिँदै गयो।

भारतमा मार्च १९७७ मा इन्दिरा पराजित भएपछि जनता पार्टी सत्तामा आयो। मोरारजी देसाई प्रधानमन्त्री र अटलबिहारी बाजपेयी परराष्ट्रमन्त्री बने। अमेरिकामा जिम्मी कार्टरले मानवअधिकारलाई परराष्ट्र नीतिको केन्द्र बनाए।

यी दुवै घटनाले नेपालको दरबार र पञ्चहरूलाई दबाब दियो। राजा वीरेन्द्रसँग बीपीको भेट भयो। बीपीले राजनीतिक कुरा गर्न चाहे, राजाले स्वास्थ्यको। उनको स्वास्थ्य गम्भीर थियो।

१९७७ जुन ७ मा राजाले उनलाई उपचारका लागि विदेश जान अनुमति दिए। मुद्दा कायमै राखेर रिहा गरियो। नेपाल सरकारले खर्च व्यहोर्ने आश्वासन दियो।

अमेरिका, उपचार र फेरि स्वदेश फिर्ती

बीपी पत्नी सुशीला र छोरी चेतनासँग दिल्ली हुँदै अमेरिका गए। न्युयोर्कमा उपचार भयो। त्यहाँ उनले अन्तरवार्ता दिए। कार्टर प्रशासनको मानवअधिकार नीतिको स्वागत गरे। उनले आर्थिक सहयोग र प्रजातन्त्र दुवैलाई भिन्नभिन्न हेर्नुपर्ने बताए। उपचारपछि उनी नेपाल फर्किने निर्णय गरे।

भारतीय मित्रहरू (चन्द्रशेखर, जयप्रकाश नारायण) ले नफर्कन सल्लाह दिए पनि उनले ‘राजाको विश्वास तोड्दिनँ’ भनेर १९७७ नोभेम्बरमा स्वदेश फर्किए। फेरि विमानस्थलबाट पक्राउ परे अनि पुनः मुद्दा चलेको थियो। १९७८ फेब्रुअरीमा धरौटीमा रिहा भए।

बीपीको अमर सन्देश र आजको चुनौती

बीपीले जेल, निर्वासन, गिरफ्तारी र मुद्दाको सामना गरे तर कहिल्यै सिद्धान्तबाट विचलित भएनन्। उनले प्रजातन्त्रका लागि भाषण दिए, प्रभावमा परेर मानिसले हतियार उठाए भने नैतिक जिम्मेवारी लिने बताए। उनको जीवन संघर्षले देखाउँछ- व्यक्तिगत सुरक्षाभन्दा देश र प्रजातन्त्र ठूलो हुन्छ।

आज उनको ४४ औं निधन दिवसमा कांग्रेस दुई समूहमा छुट्टिएको छ। बीपीको ‘राष्ट्रिय मेलमिलाप’ को भावनालाई पार्टीभित्र पनि लागू गर्न सकिन्छ। विभाजनले शक्ति कमजोर बनाउँछ, एकताले बलियो।

बीपीले भनेका थिए- ‘देश राष्ट्रिय संकटमा छ, कांग्रेसलाई दोहोरो जिम्मेवारी छ।’ आजको संकट भिन्न छ, तर सन्देश उही छ। उनको सम्झनामा दुवै समूह एक ठाउँमा उभिएर प्रजातन्त्र, राष्ट्रियता र समाजवादको बाटोमा अघि बढ्नु उचित हुन्छ।

बीपी कोइराला मात्र नेता थिएनन्, नेपाली राजनीतिको शिखर पुरुष थिए। बीपी कोइरालाले जीवनभर सिकाएको कुरा सत्ता होइन, सहमति थियो; पद होइन, सिद्धान्त थियो; र विभाजन होइन, राष्ट्रिय मेलमिलाप थियो। आज उनको ४४औँ स्मृति दिवसमा कांग्रेसका दुई समूहले छुट्टाछुट्टै श्रद्धाञ्जलि अर्पण गर्नु पार्टीको आन्तरिक विवाद होइन, बीपीको राजनीतिक दर्शनमाथिको प्रश्न पनि हो। जसले राष्ट्रिय संकटमा लोकतन्त्र र राष्ट्रियतालाई एउटै सूत्रमा बाँध्ने साहस देखाए, उनै बीपीको नाममा राजनीति गर्नेहरूले आफ्नै घरभित्र मेलमिलाप गर्न नसक्नु विडम्बना हो।

बीपीले भनेका थिए- देश संकटमा पर्दा सबैभन्दा ठूलो जिम्मेवारी लोकतान्त्रिक शक्तिमाथि आउँछ। आज त्यो जिम्मेवारी कांग्रेसमाथि पनि उत्तिकै छ। श्रद्धाञ्जलि फूल चढाएर पूरा हुँदैन; बीपीको विचारलाई व्यवहारमा उतारेर मात्र पूरा हुन्छ। कांग्रेसले आफ्नै घरबाट मेलमिलापको सुरुवात गर्न सकेन भने बीपीको तस्बिरमा चढाइने फूल इतिहासका लागि सम्मान होइन, औपचारिकता मात्र हुनेछ। यही नै आजको स्मृति दिवसले सोधिरहेको सबैभन्दा गम्भीर प्रश्न हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast