अमेरिकाको २५० वर्ष : विश्व शक्तिको उदय, चुनौती र नयाँ मोड

हिमाल प्रेस २१ असार २०८३ १४:३० | Sunday, July 5, 2026
6
SHARES
अमेरिकाको २५० वर्ष : विश्व शक्तिको उदय, चुनौती र नयाँ मोड अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा वासिङ्टनस्थित नेसनल मलमाथि आतसबाजी प्रदर्शन गरिँदै। तस्बिर : एपी/रासस

संयुक्त राज्य अमेरिकाले आतसबाजी र सैन्य हवाई प्रदर्शन (फ्लाइओभर) सहित आफ्नो २५०औँ स्वतन्त्रता दिवस मनाएको छ। देशका विभिन्न भागमा आएको प्रतिकूल मौसमका कारण उत्सव केही प्रभावित बनेको थियो।

राजधानी वासिङ्टन डीसीस्थित नेसनल मलमा मौसमका कारण ढिलाइपछि आयोजित विशेष कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी सपना फेरि फर्किएको बताए। त्यसपछि उनले यसलाई विश्वकै सबैभन्दा ठूलो आतसबाजी प्रदर्शनमध्ये एक भएको दाबी गरे।

हरेक वर्ष जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्रता दिवस सन् १७७६ मा १३ अमेरिकी उपनिवेशहरूले बेलायती शासनको अन्त्य गर्दै स्वतन्त्रताको घोषणामा हस्ताक्षर गरेको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ।

यद्यपि यस वर्षको २५०औँ वार्षिकोत्सवमा ट्रम्पले आफूलाई उत्सवको केन्द्रमा राखेको र राष्ट्रिय समारोहलाई राजनीतिक बनाएको भन्दै आलोचना पनि भएको छ। ट्रम्पले अहिलेको समयलाई अमेरिकाको स्वर्णिम युगको थालनी मात्र भएको र यसको नियति भगवान्‌द्वारा निर्धारित भएको दाबी गरे।

अमेरिकाले आफ्नो स्वतन्त्रताको २५० वर्ष पूरा भएको उत्सव मनाइरहेका बेला ऊ यस्तो मोडमा उभिएको छ, जहाँ उसले आफूलाई नयाँ ढंगले बुझ्न मात्र होइन, विश्वका अन्य मुलुकहरूसँगको सम्बन्धलाई पनि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। आप्रवासन, राष्ट्रवाद र परराष्ट्र नीतिलाई लिएर चलिरहेका बहसहरूले लामो समयदेखि कायम रहेको त्यस धारणामा चुनौती दिएका छन्, जसअनुसार अमेरिकाले आफूलाई निरन्तर प्रगतितर्फ अग्रसर राष्ट्र तथा दोस्रो विश्वयुद्धपछि स्थापित उदार अन्तर्राष्ट्रिय व्यवस्थाको (लिबरल अर्डर) प्रमुख निर्माता मान्दै आएको थियो।

अमेरिकाको प्रभाव कमजोर हुँदै गएको भविष्यवाणी पटकपटक गरिए पनि आधुनिक भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकाजत्तिको गहिरो प्रभाव पार्ने अर्को कुनै राष्ट्र देखिएको छैन। आफ्नो शक्ति विस्तार गर्दै त्यसको प्रभाव विश्वभर फैलाएर अमेरिकाले विश्व राजनीतिका दिशा निर्धारणमा निर्णायक भूमिका खेलेको छ।

डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनको विदेश नीतिलाई दृष्टिगत गर्दै अमेरिकाका सहयोगी, प्रतिस्पर्धी तथा साझेदार राष्ट्रहरूले आफ्ना रणनीतिहरू पुनर्संरचना गरिरहेका छन्। यस्तो अवस्थामा अमेरिका कसरी आधुनिक युगको सबैभन्दा प्रभावशाली महाशक्ति बन्यो र उसले विश्व राजनीति तथा अन्तर्राष्ट्रिय मामिलाका दिशामा कसरी गहिरो प्रभाव पार्‍यो भन्ने बुझ्नु अत्यन्त आवश्यक भएको छ।

दशकौँदेखि अमेरिकाको युग समाप्त हुँदै गएको दाबी गरिँदै आएको छ। यस्ता दाबीविपरीत नयाँ प्रविधिले विश्वव्यापी प्रतिस्पर्धाको स्वरूप तीव्र रूपमा परिवर्तन गरिरहेको वर्तमान अवस्थामा समेत अमेरिका विश्वकै सबैभन्दा ठूलो सैन्य तथा आर्थिक शक्ति बनेको छ।

यद्यपि, विगत २५० वर्षदेखि अमेरिकाले जोड दिँदै आएको ‘अमेरिकी असाधारणता’ ले एउटा महत्त्वपूर्ण सत्य पनि स्मरण गराउँछ— जति धेरै शक्ति हुन्छ, त्यति नै ठूलो जिम्मेवारी र कठिन रणनीतिक निर्णयहरू लिनुपर्ने हुन्छ। अब उदाउने हरेक नयाँ शक्तिका लागि अमेरिका एउटा महत्त्वपूर्ण मापदण्ड, प्रतिस्पर्धी, साझेदार र कतिपय अवस्थामा प्रतिद्वन्द्वीका रूपमा रहिरहनेछ। त्यसैले अमेरिकाले आगामी दिनमा लिने दिशा अन्तर्राष्ट्रिय व्यवस्थाको भविष्य निर्धारण गर्ने प्रमुख कारकमध्ये एक बन्नेछ।

अमेरिकाको नयाँ थालनी

अमेरिकाको निरन्तर परिवर्तन र नयाँ परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्दै आएको छ। विभिन्न कालखण्डमा ठूलो संख्यामा आएका आप्रवासीहरूले अमेरिकाको प्रतिभा र क्षमतामा निरन्तर वृद्धि गराए मात्र होइन, राष्ट्रिय पहिचान तथा ‘अमेरिकी’ हुनुको अर्थसम्बन्धी राजनीतिक बहसलाई पनि नयाँ मोड दिए।

आज ‘अमेरिका फर्स्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता नारा पनि यही बहसको निरन्तरता हुन्।

एटलान्टिक तटमा रहेका १३ उपनिवेशबाट सुरु भएको अमेरिका पश्चिम र दक्षिणतर्फ विस्तार हुँदै आज ५० राज्यहरूको संघीय राष्ट्र बनेको छ। यस विस्तारले अमेरिकालाई रणनीतिक लाभ, विशाल प्राकृतिक स्रोतसाधन, एटलान्टिक र प्रशान्त दुवै महासागरमा पहुँच तथा सम्पूर्ण उत्तर अमेरिकामा सुदृढ उपस्थिति प्रदान गर्‍यो। साथै, अमेरिका एक शक्तिशाली प्रशान्त राष्ट्रका रूपमा पनि स्थापित भयो।

गृहयुद्धपछि तीव्र औद्योगिकीकरणले यी भौगोलिक लाभलाई आर्थिक शक्तिमा रूपान्तरण गर्‍यो। रेलमार्ग, इस्पात उद्योग, उत्पादन क्षेत्र, वित्तीय प्रणाली तथा प्रविधिगत नवप्रवर्तनले यस्तो अर्थतन्त्र निर्माण गरे, जसले अमेरिकालाई आफ्ना सीमाभन्दा धेरै टाढासम्म प्रभाव विस्तार गर्ने क्षमता प्रदान गर्‍यो।

‍‍आर्थिक शक्तिबाट विश्व नेतृत्वसम्म

आर्थिक शक्ति चाँडै नै भूराजनीतिक महत्त्वाकांक्षामा रूपान्तरित भयो। १९औँ शताब्दीको अन्त्यसम्म आइपुग्दा स्पेनिस-अमेरिकन युद्ध र अमेरिकी नौसैनिक शक्तिको तीव्र विस्तारले अमेरिका अब आफ्नो सुरक्षा र समृद्धि आफ्ना सीमाभित्रका घटनामा मात्र होइन, विश्वका अन्य भागमा हुने घटनासँग पनि जोडिएको छ भन्ने निष्कर्षमा पुगेको स्पष्ट संकेत दिएको थियो।

सन् १८२३ को मनुरो डक्ट्रिन प्रारम्भमा एउटा आकांक्षा वा नीतिगत लक्ष्य मात्र थियो, जसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सजिलो थिएन। तर सन् १९०४ मा रुजभेल्ट कोरोलारीले त्यसलाई पश्चिमी गोलार्धमा अमेरिकी नेतृत्व स्थापित गर्ने स्पष्ट नीतिमा रूपान्तरण गरिदियो। यससँगै अमेरिका आफ्नो प्रतिरक्षामा सीमित रहने राष्ट्र नभई आफ्नो रणनीतिक प्रभावक्षेत्रको दिशा निर्धारण गर्न चाहने शक्तिका रूपमा स्थापित हुन थाल्यो।

दोस्रो विश्वयुद्धपछि विश्व व्यवस्थाको निर्माता

दोस्रो विश्वयुद्धले अमेरिकाको महत्त्वाकांक्षालाई विश्वव्यापी नेतृत्वमा रूपान्तरण गरिदियो। वासिङ्टन युद्ध विजेता राष्ट्रमा सीमित रहेन, उसले युद्धपछिको नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको निर्माणमा निर्णायक भूमिका खेल्यो। अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूको सुदृढ सञ्जाल निर्माण गर्‍यो र यस्तो आर्थिक संरचना विकास गर्‍यो, जसले उसको विश्वव्यापी प्रभावलाई बलियो बनाएन, अन्य मुलुकहरूको आर्थिक पुनर्निर्माण र विकासलाई समेत गति दियो।

संयुक्त राष्ट्र संघ, ब्रेटन वुड्स सिस्टम, उत्तर एटलान्टिक सन्धि संगठन (नाटो), मार्सल प्लान तथा अमेरिकी डलरमा आधारित विश्व वित्तीय प्रणाली युद्धपछिको अमेरिकी मोडेलका प्रमुख आधारस्तम्भ बने। यो व्यवस्थाले सैन्य शक्तिमा निर्भर नरही अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि विश्व स्थायित्वको आधार बनायो। यही प्रणाली पछि उदार अन्तर्राष्ट्रिय व्यवस्थाका रूपमा परिचित भयो।

महाशक्तिको विश्व व्यवस्थाको संरक्षण गर्ने जिम्मेवारी

नेतृत्वसँग एउटा अपरिहार्य भार पनि जोडिएको हुन्छ- जिम्मेवारी। अमेरिकाको शक्ति विस्तारसँगै विश्वका अपेक्षाहरू पनि बढ्दै गए। अन्तर्राष्ट्रिय व्यापारिक मार्गको सुरक्षा, सहयोगी राष्ट्रहरूको रक्षा, बजारको स्थिरता, अन्तर्राष्ट्रिय संकटमा अग्रसरता, प्रतिद्वन्द्वीहरूको नियन्त्रण तथा नियममा आधारित विश्व व्यवस्थाको संरक्षण गर्ने जिम्मेवारी क्रमशः अमेरिकामाथि केन्द्रित हुँदै गयो।

महाशक्ति बन्नुको अर्थ विश्वका अधिकांश संकटमा सबैभन्दा पहिले हस्तक्षेप गर्नुपर्ने अवस्था बन्नु मात्र होइन, झन् जटिल साझेदारी र दायित्वहरूको व्यवस्थापन गर्नु पनि हो।

शीतयुद्ध : शक्ति र सीमाको परीक्षा

शीतयुद्धले अमेरिकी नेतृत्वको क्षमता र सीमालाई एकैसाथ उजागर गरिदियो। आणविक हतियारका कारण अमेरिका र सोभियत युनियनबीच प्रत्यक्ष युद्ध भएन, तर वैचारिक प्रतिस्पर्धा, प्रविधि, अन्तरिक्ष तथा विभिन्न मुलुकमा लडिएका ‘प्रोक्सी युद्ध’ मार्फत संघर्ष जारी रह्यो।

कोरियाली युद्ध र भियतनाम युद्धले सैन्य शक्ति मात्र पर्याप्त नहुने सन्देश दिए। युद्ध जित्न सम्भव भए पनि दीर्घकालीन राजनीतिक स्थायित्व स्थापना गर्नु धेरै कठिन हुने यथार्थ ती युद्धहरूले उजागर गरे।

सोभियत संघ विघटनपछि केही समयका लागि विश्व एकध्रुवीय बन्यो। त्यस अवधिमा उदार लोकतन्त्र सुदृढ भयो, भूमण्डलीकरणले तीव्र गति लियो र अमेरिकी प्रभुत्वको कुनै विकल्प नरहेको जस्तो देखियो। तर इतिहासले कुनै पनि शक्ति सन्तुलन स्थायी नहुने तथ्य पुनः पुष्टि गरिरह्यो।

आतंकवादविरुद्धको युद्ध र अमेरिकी सीमाहरू

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंवादी आक्रमणपछि अमेरिकी रणनीतिको केन्द्र आतंकवादविरुद्धको युद्ध बन्यो। त्यसपछि अफगानिस्तान र इराकमा लामो समयसम्म सैन्य अभियान सञ्चालन गरियो।

यी युद्धहरूले अमेरिका विश्वको जुनसुकै क्षेत्रमा पनि सैन्य शक्ति परिचालन गर्न सक्षम रहेको देखाए। तर त्यससँगै अर्को यथार्थ पनि उजागर भयो— कुनै राष्ट्रको पुनर्निर्माण अत्यन्त जटिल, महँगो र दीर्घकालीन प्रक्रिया हो। सैन्य बलद्वारा सरकार परिवर्तन गर्न सकिए पनि त्यसपछि स्थायी राजनीतिक व्यवस्था निर्माण गर्न सकिन्छ भन्ने निश्चित हुँदैन।

पश्चिम एसियामा जारी संकटहरूले पनि विशाल सैन्य शक्ति मात्रले राजनीतिक परिणाम सुनिश्चित गर्न नसकिने देखाएका छन्।

आर्थिक संकट र शक्ति सन्तुलनको परिवर्तन

विश्व आर्थिक मन्दीले अमेरिकाको अर्को कमजोरी उजागर गर्‍यो। विश्व आर्थिक व्यवस्थाको प्रमुख निर्माता रहेको अमेरिकाबाटै उत्पन्न वित्तीय अस्थिरता तीव्र गतिमा विश्वभर फैलियो। यसले विश्व अर्थतन्त्रको दिगोपना र उदार अन्तर्राष्ट्रिय व्यवस्थाको स्थायित्वमाथि गम्भीर प्रश्न उठायो।

यही अवधिमा विश्व शक्ति पनि क्रमशः धेरै मुलुकहरूबीच बाँडिन थाल्यो र अन्तर्राष्ट्रिय व्यवस्था पहिलेभन्दा बढी प्रतिस्पर्धी तथा जटिल बन्दै गयो।

महाशक्तिहरू बराबरीको शक्ति स्वीकार्दैनन्

चीनको उदयले विश्व शक्ति सन्तुलनलाई परिवर्तन गरेको छ। तर शीतयुद्धकालभन्दा भिन्न अवस्था छ। अमेरिका र चीनबीचको प्रतिस्पर्धा टकरावको मात्र होइन, परस्पर निर्भरताको पनि हो। दुवै राष्ट्र अत्याधुनिक प्रविधि, आपूर्ति शृङ्खला र विश्व पूर्वाधारमा नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन्, तर व्यापार र वित्तमार्फत एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्।

२५० वर्ष पूरा गरिसकेको अमेरिका अहिले सम्भवतः आफ्नो सबैभन्दा जटिल रणनीतिक चुनौतीसँग जुधिरहेको छ। चीनको बढ्दो राष्ट्रिय शक्तिलाई पूर्ण रूपमा रोक्नु अमेरिकाका लागि सहज छैन, किनभने त्यसको मूल्य स्वयं अमेरिका, उसका सहयोगी राष्ट्र तथा विश्व अर्थतन्त्रले चुकाउनुपर्ने हुन सक्छ।

२१औँ शताब्दीको भूराजनीति अब घेराबन्दीमा सीमित छैन। यसको केन्द्रमा निरोध), लचिलोपन, चयनात्मक दूरी तथा आवश्यक पर्दा निरन्तर संवाद र सहकार्यको मिश्रित रणनीति देखिन्छ।

बदलिँदो शक्ति र नयाँ नेतृत्व

आज शक्ति मापनको आधार पनि परिवर्तन भइसकेको छ। विमानवाहक युद्धपोत र आणविक हतियार अझै महत्त्वपूर्ण छन्, तर २१औँ शताब्दीमा कुनै राष्ट्रको प्रभाव अब प्रविधिगत नेतृत्व, औद्योगिक क्षमता, उन्नत उत्पादन, डिजिटल पूर्वाधार तथा सुदृढ आपूर्ति शृंखलामा बढी निर्भर छ। त्यसैले आर्थिक प्रतिस्पर्धा अब राष्ट्रिय सुरक्षाबाट भिन्न विषय रहेन।

अमेरिकासँग अझै पनि युरोप र इन्डो प्यासिफिक क्षेत्रमा विश्वकै बलियो सहयोगी सञ्जाल छ। तर ती सम्बन्धहरूको स्वरूप परिवर्तन हुँदै गएको छ। सहयोगी राष्ट्रहरू अब संरक्षण होइन, समान हैसियतको साझेदारी चाहन्छन्। त्यस्तै, क्षेत्रीय शक्तिहरू आफ्नो रणनीतिक स्वायत्तता अझ सुदृढ बनाउनतर्फ उन्मुख छन्।

विकासशील राष्ट्रहरूको अपेक्षा पनि बदलिएको छ। उनीहरू अब सुरक्षा ग्यारेन्टी मात्र होइन, लगानी, प्रविधि, पूर्वाधार तथा जलवायु वित्तको समेत अपेक्षा गर्छन्। त्यसैले आज कुनै राष्ट्रको नेतृत्व केवल सैन्य शक्तिले होइन, उसले विश्वलाई कति सार्वजनिक हितका वस्तु र सहकार्य उपलब्ध गराउन सक्छ भन्ने आधारमा पनि मूल्यांकन हुन थालेको छ।

यो परिवर्तन विशेषगरी इन्डोप्यासिफिक क्षेत्रमा स्पष्ट देखिन्छ, जहाँ क्वाड र अकसजस्ता साना बहुपक्षीय संयन्त्रहरूले परम्परागत सैन्य गठबन्धनसँग मिलेर काम गरिरहेका छन्। यसले अमेरिका अब एक्लै सुरक्षा सुनिश्चित गर्ने राष्ट्रभन्दा पनि विभिन्न साझेदार राष्ट्रहरूलाई समन्वय गर्ने गठबन्धन समन्वयकर्ताको भूमिकामा देखिएको संकेत गर्छ।

उति नै महत्त्वपूर्ण पक्ष अमेरिकाभित्रको आन्तरिक शक्ति पनि हो। विश्वमा उसको प्रभाव सैन्य शक्तिका कारण होइन, आर्थिक सुदृढता, नवप्रवर्तन, आप्रवासीहरूको योगदान, उच्च शिक्षा, सबल संस्थागत संरचना तथा लोकतान्त्रिक प्रणालीका कारण सम्भव भएको हो। यी सबैले अमेरिकालाई आन्तरिक रूपमा बलियो बनाउनुका साथै विश्व राजनीतिमा दीर्घकालीन प्रभाव कायम राख्न सहयोग गरेका छन्।

भविष्यमा पनि अमेरिका विश्वका सबैभन्दा प्रभावशाली शक्तिमध्ये एक रहने सम्भावना प्रबल छ। तर उसको सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई यस्तो अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार रूपान्तरण गर्नु हो, जहाँ शक्ति धेरै राष्ट्रहरूबीच बाँडिएको छ, प्रविधिको विकास संस्थागत परिवर्तनभन्दा धेरै तीव्र छ, सहयोगी राष्ट्रहरू आदेश होइन परामर्श चाहन्छन् र विश्वव्यापी समस्याको समाधान कुनै एक राष्ट्रले मात्र गर्न सक्दैन।

अन्ततः अमेरिकाको सबैभन्दा ठूलो शक्ति उसको सैन्य वा आर्थिक क्षमता होइन, बदलिँदो परिस्थितिअनुसार आफूलाई पुनः आविष्कार गर्ने असाधारण क्षमता हो। स्वतन्त्रताको २५० वर्ष पूरा गर्दै गर्दा अमेरिका प्रत्येक महाशक्तिले अन्ततः सामना गर्नुपर्ने त्यही शाश्वत चुनौतीको सामना गरिरहेको छ- जति ठूलो शक्ति, त्यति ठूलो जिम्मेवारी र त्यति नै जटिल रणनीतिक निर्णय। [अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा]

प्रकाशित: २१ असार २०८३ १४:३० | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast