‘प्रि–आईपीओको नाममा हुने अवैध क्रियाकलाप रोक्न शून्य सहनशीलताको नीति लिइन्छ’

हिमाल प्रेस ३१ असार २०८३ १५:२० | Wednesday, July 15, 2026
16
SHARES
‘प्रि–आईपीओको नाममा हुने अवैध क्रियाकलाप रोक्न शून्य सहनशीलताको नीति लिइन्छ’

काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रि–आईपीओ नाममा हुने अवैध क्रियाकपाललाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अध्यक्ष भट्टले प्रि–आईपीओ लगायतका विषयहरूमा विगतमा के भयो भन्ने भन्दा पनि आगामी दिनमा बोर्डभित्र वा बाहिर हुने जुनसुकै गलत क्रियाकलापमा शून्य सहनशीलता अपनाइने बताएका हुन्।

उनले आईपीओ वा अन्य जुनसुकै कामकारबाहीहरूलाई पारदर्शी प्रणालीबाट अगाडि बढाइने प्रतिबद्धता जनाए। अध्यक्ष भट्टले लगानीकर्ताको मनोबल उच्च राख्नका लागि लगानीकर्तासँग छलफल गरेको जानकारी दिँदै छलफलपछि उनीहरूको मनोबल उच्च भएको दाबी गरे।

आगामी वर्षदेखि बोर्डले निरीक्षण, सुपरिवेक्षण, मापदण्ड, रिपोर्टिङ सिस्टम, पूर्वाधार र आईटी सिस्टमलगायतका हरेक पक्षमा ‘क्लोज सुपरभिजन’ गर्ने रणनीति बनाएको उनले बताए। उनले बजारमा गलत अफवाह फैलाउने प्रवृत्तिलाई रोक्न बोर्डले आवश्यक नीति ल्याउने जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले शेयर बजारमा देखिनै अस्वभाविक चलखेल रोक्न बोर्ड गम्भीर हुनुपर्ने धारणा राखेका थिए।

समिति सदस्य लिमा अधिकारीले प्री–आईपीओ जारी गर्दा प्रिमियमको मूल्य निर्धारण गर्ने प्रक्रिया र यसरी संकलन भएको रकमको उपयोगको बारेमा प्रश्न गरिन्। आईपीओ निष्कासन गर्नुभन्दा अगाडि कम्पनीहरूले आफूलाई अत्यधिक नाफामा देखाउने, तर आईपीओ जारी भएको केही महिनामै कम्पनी घाटामा जाने विषयसमेत गम्भीर रहेकाले बोर्डले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै समिति सदस्य प्रा. डा. पुष्पराज कडेलले कम्पनी खोल्ने भन्दै सर्वसाधारणबाट पैसा उठाउने तर पछि लगानीकर्ताहरु हराउने प्रवृत्तिले देशको उत्पादनशील क्षेत्र विकास हुन नसकेको बताए। उनले जलविद्युत क्षेत्रमा भएको केही लगानीबाहेक, नेपालमा उत्पादनमूलक उद्योगलगायतका दीर्घकालीन र उत्पादनशील क्षेत्रहरूमा पर्याप्त लगानी हुन नसकेको उनको भनाइ छ।

उनले अहिले नेपाली सेयर बजार र समग्र व्यावसायिक क्षेत्रमा संस्थागत सुशासनको ठुलो अभाव रहेकाले बोर्डले बिशेष ध्यान दिनुपर्ने सुझाव दिए। अन्य सदस्यहरुले सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सुरक्षाका लागि धितोपत्र बोर्डको भूमिका बलियो हुनुपर्ने, कम्पनीहरूको प्रक्षेपित र वास्तविक वित्तीय विवरणमा एकरूपता हुनुपर्ने लगायतका विषय उठान गरेका थिए।

प्रकाशित: ३१ असार २०८३ १५:२० | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast