कक्रोच जनता पार्टीका संस्थापक अभिजीतद्वारा आमरण अनशनको घोषणा

हिमाल प्रेस ३ साउन २०८३ ९:०९ | Sunday, July 19, 2026
4
SHARES
कक्रोच जनता पार्टीका संस्थापक अभिजीतद्वारा आमरण अनशनको घोषणा

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीको जन्तर–मन्तरमा २० दिनदेखि आमरण अनशन बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार बलपूर्वक हटाएर अस्पताल लगेपछि दीपकेले यस्तो घोषणा गरेका हुन्।

५९ वर्षीय वाङ्चुक गत जुन २८ देखि सीजेपीको समर्थनमा आमरण अनशनमा थिए। पार्टीले भारतको महत्त्वपूर्ण नीट परीक्षाको प्रश्नपत्र चुहावटको जिम्मेवारी लिँदै भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

वाङ्चुकको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दिल्ली उच्च अदालतले बिहीबार उनको जीवन बचाउन आवश्यक पर्ने जुनसुकै चिकित्सकीय हस्तक्षेप गर्नु भन्ने आदेश दिएको थियो। अदालतको निर्देशनपछि दिल्ली प्रहरीले उनलाई अस्पताल पु¥याएको जनाएको छ।

दिल्ली प्रहरीले उच्च अदालतको आदेश पालना गर्दै वाङ्चुकलाई उचित प्रक्रियाअनुसार अस्पताल लगिएको दाबी गरेको छ। केही प्रदर्शनकारीले उक्त कारबाही रोक्ने प्रयास गर्दा केहीबेर तनाव र भागदौड भएको प्रहरीले बताएको छ।

सीजेपीका संस्थापक दीपकेले प्रहरीको व्यवहारको कडा आलोचना गरेका छन्। उनले आरोप लगाए, ‘करिब ६० वर्षका, २० दिनदेखि भोकै बसेका एक व्यक्तिलाई दिल्ली प्रहरीले गालीगलौज गर्दै घिसारेर जबर्जस्ती हटायो।’

वाङ्चुकलाई अस्पताल लगिएपछि दीपकेले आफूले पनि अनिश्चितकालीन आमरण अनशन सुरु गर्ने घोषणा गर्दै सरकारले गम्भीर गल्ती गरेको आरोप लगाए। उनले प्रहरीले वाङ्चुकमाथि बल प्रयोग गरेको आरोप लगाए।

वाङ्चुककी पत्नी गीताञ्जली जे। आङ्मोले सामाजिक सञ्जाल एक्समार्फत आफू अस्पतालमा श्रीमान्सँगै रहेको जानकारी दिएकी छन्।
उनले लेखेकी छन्, ‘मेरो, परिवारको तथा विगत २० दिनदेखि उहाँको स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकहरूको अनुमति बिना उहाँलाई मुखबाट वा नसामार्फत कुनै औषधि वा उपचार नदिइयोस्।’

पछिल्ला दिनहरूमा विभिन्न विपक्षी दलका नेताहरू जन्तर–मन्तर पुगेर वाङ्चुक तथा विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउँदै आएका छन्। यद्यपि सरकारले भने आन्दोलनप्रति अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रदर्शनकारीहरूले सोमबार सुरु हुने संसद् अधिवेशनको पहिलो दिन जन्तर–मन्तरबाट संसद् भवनसम्म मार्च गर्ने योजना बनाएका थिए। त्यसअघि नै शनिबार प्रहरीले वाङ्चुकलाई हटाएपछि दिल्लीको राजनीतिक वातावरण थप तातेको हो।

दीपकेले भने, ‘यो आन्दोलन अब झन् बलियो हुनेछ। हाम्रो योजना संसद्तर्फ मार्च गर्ने हो र हामी आफ्नो अभियानलाई निरन्तर अघि बढाउनेछौँ।’

संसद् अधिवेशन सुरु हुनुअघि प्रशासनले जन्तर–मन्तर तथा आसपासका क्षेत्रमा अतिरिक्त प्रहरी र अर्धसैनिक बल परिचालन गरेको छ। प्रहरीले सुरक्षा व्यवस्था सतर्कताका लागि कडा पारिएको र प्रदर्शनकारीहरूलाई कानुन–व्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरिएको जनाएको छ।

प्रकाशित: ३ साउन २०८३ ९:०९ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast