शैक्षिक परामर्श नियमावलीबारे सरोकारवालाको सुझाव लिँदै शिक्षा मन्त्रालय

हिमाल प्रेस ७ साउन २०८३ ११:१२ | Thursday, July 23, 2026
30
SHARES
शैक्षिक परामर्श नियमावलीबारे सरोकारवालाको सुझाव लिँदै शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित बिहीबार सरोकारवालासँग नीतिगत छलफल गर्ने भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफलको मुख्य एजेन्डा कन्सल्टेन्सी व्यवसायमा देखिएका समस्या, नियामकीय व्यवस्था र आवश्यक नीतिगत सुधार रहने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका चुनौती, गुणस्तरीय परामर्श सेवाको प्रवर्द्धन तथा सेवा सञ्चालनलाई थप प्रभावकारी बनाउने उपायबारे सुझाव संकलन गरिनेछ।

‘शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ सम्बन्धी व्यवस्थामाथि पनि सरोकारवालासँग राय लिइनेछ।

छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत अन्य सम्बद्ध संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

मन्त्रालयले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा निजी क्षेत्र र सरोकारवालासँगको संवादलाई प्राथमिकता दिएको जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त सुझावका आधारमा आवश्यक नीतिगत सुधार तथा समन्वयका काम अघि बढाइनेछ।

प्रकाशित: ७ साउन २०८३ ११:१२ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast