काठमाडौँ- नेपालमा सुनचाँदी, रत्न तथा आभूषण उद्योग विस्तार हुँदै गए पनि दक्ष नेपाली कालिगढको अभावका कारण व्यवसाय विदेशी कामदारमा निर्भर बन्दै गएको छ।
यसबाट हरेक वर्ष अर्बौं रुपैयाँ पारिश्रमिकका रूपमा विदेशिने अवस्था रहेकाले सरकारले स्वदेशमै दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग उठेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीले सरकारले महासंघसँग सहकार्य गर्दै सातै प्रदेशमा आधुनिक तालिम केन्द्र स्थापना गरे छोटो समयमै २० देखि ३० हजार नेपाली युवालाई रोजगारीसँग जोड्न सकिने बताए।
सुनचाँदी व्यवसाय परम्परागत मात्र नभई उत्पादनमूलक उद्योग पनि हो। तर दक्ष जनशक्तिको अभावले व्यवसायी विदेशी कालिगढमा निर्भर हुन बाध्य छन्। यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको उनले बताए।
सरकारले विभिन्न क्षेत्रमा सीप विकासका नाममा बजेट खर्च गरे पनि त्यसको प्रभावकारी प्रतिफल नदेखिएको उनले दाबी गरे।
उनका अनुसार सोही बजेटको केही हिस्सा सुनचाँदी तथा आभूषण क्षेत्रको सीप विकासमा केन्द्रित गर्न सके हजारौं युवाले स्वदेशमै रोजगारी र स्वरोजगारको अवसर प्राप्त गर्न सक्नेछन्।
उनले प्रत्येक प्रदेशमा आधुनिक उपकरणसहितका तालिम केन्द्र स्थापना गरी सुन, चाँदी, हिरा तथा रत्न जडान, डिजाइन, कास्टिङ, पोलिसिङ र आधुनिक आभूषण निर्माणसम्बन्धी व्यावसायिक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। यस्तो कार्यक्रमले छोटो अवधिमै दक्ष नेपाली कालिगढ उत्पादन गर्न सकिने उनको विश्वास छ।
महासंघ सरकारले आवश्यक बजेट सुनिश्चित गरे तालिम सञ्चालनमा पूर्ण सहकार्य गर्न तयार रहेको पनि उनले बताए। प्रशिक्षक, प्राविधिक सहयोग तथा व्यावसायिक अभ्यासका लागि निजी क्षेत्रको अनुभव र पूर्वाधार प्रयोग गर्न सकिने उनको भनाइ छ।
उनले सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर छुट्टै बजेटमार्फत सीपमूलक तालिम सञ्चालन गर्न आग्रह गरे। यसबाट बेरोजगार युवाले रोजगारी र स्वरोजगारको अवसर पाउनुका साथै वैदेशिक पलायनसमेत घटाउन सहयोग पुग्ने उनको विश्वास छ।

