मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

हिमाल प्रेस १२ असार २०८३ २०:०४ | Friday, June 26, 2026
12
SHARES
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

काठमाडौँ- देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ।

जल तथा मौसम विभागको तथ्या‌ंकअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत हो।

हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार विशेषगरी महिनाको सुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन।

मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो। कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

देशभर मनसुन विस्तार हुनसकेको छैन। मौसमविद् ढकालले पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने बताएका छन्। विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ।

विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ। विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

प्रकाशित: १२ असार २०८३ २०:०४ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast