काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय पक्षसँग विकास कूटनीतिका विषयमा सकारात्मक छलफल भएको बताएका छन्। पाँचदिने भारत भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किएका अध्यक्ष लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरु चरणबद्ध रुपमा समाधान गरिने बताए। उनले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने उल्लेख गरे।
लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकाले हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरे। लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
उहाले धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणका क्रममा पारदर्शी रुपमा छलफल भएको बताए।
बैठकहरू परादर्शी ढंगबाट अगाडि बढेको बताउँदै उनले कनेक्टिभिटी, धार्मिक पर्यटन, विकास, समृद्धिलगायतका विषयमा छलफल भएको जानकारी दिए।
‘बैठकहरू पारदर्शी ढंगबाट अगाडि बढ्यो, हामीले कनेक्टिभिटी, धार्मिक पर्यटन, खेलकुददेखि आईटीसम्मको कुरा गरेका छौँ,’ लामिछानेले भने,‘यो भ्रमणले रिसेट गर्ने काम गरेको छ, छलफलका क्रममा स्पष्ट खाका प्रस्तुत गरेका छौँ।’
सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा समृद्धिका एजेन्डालाई अगाडि सारेको जानकारी दिए। नेपालमा पनि समृद्धि भए यात्रा सँगसँगै बढ्ने आफूले बताएको उनले सुनाए।
‘विगतमा भएका केही कमजोरी भएका छन् भने त्यसको भारी बोकिरहनु पर्दैन,’ उनले भने,‘समृद्धिको यात्रामा र विकास कूटनीतिमा अगाडि बढ्न तयार छौँ, एकअर्काप्रति घृणा र द्ववेश फैलाएर होइन सद्भावका साथ अगाडि बढ्नुपर्छ भनेर भनेका छौँ।’
भ्रमणका क्रममा भारतले गरेको आफ्नो सम्मान नेपाल र नेपालीका लागि रहेको उनको भनाइ छ।
सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी धारणामा परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्य नै सरकारको आधिकारिक भनाइ रहेको बताए। उनले अब थप आधिकारिकता देखाउन आवश्यक नरहेको जिकिर गरे।
आफूहरू स्थिरताको पक्षमा रहेको बताउँदै सभापति लामिछानेले अस्थिरत र किचलो निम्त्याउने काम नहुने प्रस्ट पारे।
‘निर्वाचनअगाडि हामीले लेखेको कागज एकपटक पढनुस्, हामी अस्थिरताको पक्षमा छैनौँ, स्थायित्व दिन आएका हौँ, अस्थिरता र किचलो निम्त्याउने पक्षमा छैनौँ,’ उनले भने,‘सरकार र पार्टी सञ्चालनमा जिम्मेवारी बाँडफाँट गरेका छौँ।’
सभापति लामिछानेले आवश्यकता र समयअनुसार प्रधानमन्त्रीले पनि छिमेकी मुलुकको भ्रमण गर्ने जानकारी दिए।
उनले आफूले यही भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनलाई नेपाल भ्रमणको निम्तो दिएका जानकारी दिए।
रास्वपा अध्यक्ष लामिछाने भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि गत सोमबार नयाँदिल्ली गएका थिए।
भ्रमणका क्रममा उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरलगायतका नेताहरूसँग भेटवार्ता गरेका थिए।




