दुई ठूला छिमेकीबाट विकासको लाभ लिन सकेनौँ : परराष्ट्रमन्त्री

हिमाल प्रेस २३ जेठ २०८३ १९:०६ | Saturday, June 6, 2026
20
SHARES
दुई ठूला छिमेकीबाट विकासको लाभ लिन सकेनौँ : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन्।

भारतीय च्यानल ‘एनडीटीभी’ सँग शनिबार विशेष संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहुआयामिक सम्बन्धलाई थप सृदृढ गर्न सरकार तत्पर रहेको बताए।

नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए।

मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस जयशंकरसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै उनले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राखे।

उनले बंगलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको साथ रहने विश्वाससमेत व्यक्त गरे।

‘हामीले विगतका कुरा लिएर आएका छैनौँ। विगतमा हामीले दुई ठुला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्दथ्यो, त्यति सकेनौँ। अब पारस्परिक लाभ, सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौं,’ मन्त्री खनालले भने, ‘हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहुआयामिक सहकार्य स्थापित गर्नेछौँ।’

रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लिन उत्प्रेरणा मिलेको उनको भनाइ थियो।

नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने मन्त्री खनालको विश्वास थियो।

प्रकाशित: २३ जेठ २०८३ १९:०६ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast