घरेलु टोली क्यानाडा र अमेरिकाको ‘म्याच–डे’

हिमाल प्रेस २९ जेठ २०८३ २०:०९ | Friday, June 12, 2026
18
SHARES
घरेलु टोली क्यानाडा र अमेरिकाको ‘म्याच–डे’

काठमाडौँ- आयोजकद्धय अमेरिका र क्यानाडाले शुक्रबार मध्यरातिबाट आफ्नो विश्वकप अभियान सुरु गर्नेछन्। क्यानाडाले राति १२ः४५ बजे हुने खेलमा यूईएफए छनोटबाट अप्रत्याशित रुपमा छनोट भएको बोस्निया एन्ड हर्जोगोभिनासँग खेल्नेछ भने अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुनेछ। अमेरिकाले शनिबार बिहान ६ : ४५ बजे पाराग्वेलाई भेट्नेछ।

क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना (टोरोन्टो रंगशाला)

क्यानाडा अहिले गोल्डेन जेनेरेसनमा रमिरहेको छ। जेसी मार्सको नेतृत्वमा रहेको टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य बोकेको छ।

बोस्निया अप्रत्याशित रुपमा इटालीलाई प्लेअफ फाइनलमा हराउँदै अमेरिकाको टिकट काटेको हो। बोस्नियालाई टोरोन्टो रंगशालामा पनि समर्थकको कमी भने हुने छैन। उत्तर अमेरिकामा बोस्नियाली डायस्पोरा ठूलो संख्यामा रहेकाले प्रतियोगितामा उनीहरुलाई समर्थकको अभाव नहुने अनुमान गरिएको छ।

बोस्नियाले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा गोलका लागि संघर्ष गर्नुपरेको छ। विश्वकपअघिको मैत्रीपूर्ण खेलमा पनि बोस्नियाले नर्थ म्यासेडोनिया र पानामाविरुद्ध मात्र एक गोल गर्न सक्यो। टोली पूर्ण रुपमा अझै पनि भेट्रान सेन्टरब्याक तथा कप्तान इडेन जेकोप्रति निर्भर छ। यसबाहेक मिडफिल्डरहरु केरिम अलाजबेगोभिच, एस्मिर बज्राक्तारेभिच र बेन्जामिन ताहिरोभिच बोस्नियाका प्लेयर्स टु वाच हुन्।

क्यानाडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन्। मिडफिल्ड जोडी भियारियालका ताजोन बुचानन र एलए एफसीका स्टेफन युस्टाकियो आयोजक टोलीका लागि प्रमुख खेलाडी रहनेछन्। स्टार खेलाडी लेफ्ट ब्याक अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानाडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ।

क्यानाडाले वार्मअप खेलमा आयरल्यान्डसँग बराबरी खेलेको थियो। त्यसपछि उज्वेकिस्तानलाई हराएको क्यानाडा प्रतियोगिताको एलिट टोली होइन। तर, घरेलु मैदानमा क्यानाडाले ‘लेट विनर म्याजिक’ ल्याउन सक्ने अनुमान गर्न सकिन्छ। बोस्निया यसैमा सजग हुन आवश्यक छ।

अमेरिका भर्सेस पाराग्वे (लस एन्जलस)

सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न १९औँ संस्करणमा पाराग्वेले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो। तर, त्यसपछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेन। १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किनाका बावजुद पाराग्वेमा आत्मविश्वासको कमी छैन। टोलीले ठूला विपक्षीलाई निराश पार्ने विश्वास लिएको छ।

मोउरिसियो पोचेटिन्होको नेतृत्वमा अमेरिकालाई सर्वप्रथम समूह चरण पार गर्ने चुनौती छ। पोचेटिन्होले मिश्रित नतिजा आत्मसात गरिरहेका छन्। मैत्रीपूर्ण खेलमा बेल्जियम र पोर्चुगलसँग हार बेहोरेको अमेरिका विश्वकपअघि जर्मनीसँग पनि पराजित भयो। गत वर्ष अमेरिकाले पाराग्वेलाई २–१ र उरुग्वेलाई ५–१ ले हराएको थियो।

मार्चमा पाराग्वेले ग्रीसलाई १–० ले हराएको थियो। तर, बलियो मोरक्कोसँग टोली २–१ ले हार्न पुग्यो। विश्वकपअघि पाराग्वेले वार्म अप खेलमा कमजोर निकारागुवामाथि घरेलु मैदानमा ४–० को जित हासिल गरेको थियो। तर, खेलका क्रममा टोलीका स्टार फरवार्ड हुलियो एन्सिसो घाइते हुन पुगे। खुट्टाको चोटका कारण उनले कम्तिमा विश्वकपका सुरुआती दुई खेल गुमाउने अनुमान गरिएको छ।

एन्सिसो पाराग्वेका प्रमुख गोलकर्ता हुन्। उनको अनुपस्थितिमा अब अनुभवी कप्तान मिगुएल आल्मिरोनमाथि जिम्मेवारी बढेको छ। उनका साथै मिडफिल्डर डामियन बोबाडिला र स्ट्राइकर एन्टोनियो सानाब्रियामाथि पनि अझ बढी जिम्मेवारी रहनेछ।

पाराग्वेले रक्षापंक्तिमा ओमार अल्डेरेटेलाई भरोसा गरेको छ। तर, विपक्षी टोली अमेरिकासँग उनलाई चुनौती दिन सक्ने थुप्रै आक्रमणकारी विकल्पहरु छन्। क्रिस्टियन पुलिसिक एसी मिलानमा सिजनको अन्त्यतिर कठिन समय बिताए पनि अहिले पूर्ण रुपमा फिट भएर मैदान उत्रिने आशामा छन्। फोलारिन बालोगुनले आफूलाई प्रभावशाली स्ट्राइकरका रुपमा स्थापित गर्न कोशिस गरिरहेका छन् भने मालिक टिलम्यानले अमेरिकी आक्रमणलाई थप धार दिनेछन्।

प्रकाशित: २९ जेठ २०८३ २०:०९ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast