शेष घलेले भित्र्याए ‘द लक्जरी कलेक्सन’ ब्रान्ड

हिमाल प्रेस २४ जेठ २०८३ १७:२७ | Sunday, June 7, 2026
10
SHARES
शेष घलेले भित्र्याए ‘द लक्जरी कलेक्सन’ ब्रान्ड

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेद्वारा काठमाडौँमा निर्माणाधीन एक लक्जरी होटल म्यारियट बोनभोयको सबैभन्दा प्रतिष्ठित ब्रान्डमध्ये ‘द लक्जरी कलेक्सन’ अन्तर्गत सञ्चालन हुने भएको छ।

यो ब्रान्डको नेपालमा औपचारिक प्रवेश भएको हो।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको उपस्थितिमा आइतबार सम्झौतामा हस्ताक्षर गरिएको छ। हस्ताक्षर समारोहपछि अध्यक्ष म्यारियटले केशरमहलस्थित १७ तले होटल भवनको अवलोकनसमेत गरे। यो होटल सुरुमा ‘काठमाडौँ सेराटन होटल’ का रूपमा सञ्चालन गर्ने योजना थियो। परियोजनाको शिलान्यास सन् २०१४ को अक्टोबरमा गरिएको थियो। तर निर्माणमा ढिलाइका कारण सेराटनसँगको ब्रान्डिङ सम्झौता अन्त्य भएको थियो।

वर्षौँको ढिलाइपछि घलेले अब म्यारियटसँग साझेदारी गर्दै उक्त सम्पत्ति ‘द लक्जरी कलेक्सन’ अन्तर्गत सञ्चालन गर्ने भएका छन्। होटल सन् २०२६ को अक्टोबरदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

ठमेलनजिकैको प्रिमियम केशरमहल क्षेत्रमा १३ रोपनी जग्गामा फैलिएको यो परियोजनाको निर्माण सुरु हुँदा लागत आठ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। तर अन्तिम लगानी रकम भने प्रवर्द्धकहरूले सार्वजनिक गरेका छैनन्।

होटलमा २२५ वटा कोठा रहनेछन्। साथै दुई हजारजनासम्म अट्ने बैंक्वेट हल, दुईवटा सम्मेलन हल, तीनवटा बैठक कक्ष, चारवटा रेस्टुरेन्ट, फिटनेस क्लब, स्पा र इन्फिनिटी स्विमिङ पुल रहनेछ।

‘द लक्जरी कलेक्सन’ म्यारियट बोनभोयको उच्चस्तरीय लक्जरी ब्रान्डमध्ये एक हो। जसले ४० भन्दा बढी देशमा एक सय ३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ।

सम्झौतासँगै म्यारियटको नेपालमा उपस्थिति थप विस्तार भएको छ। कम्पनीले सन् २०१७ मा ‘फेयरफिल्ड बाई म्यारियट काठमाडौँ’ मार्फत नेपाली बजारमा प्रवेश गरेको थियो। त्यसपछि ‘काठमाडौँ म्यारियट होटल’ र ‘अलफ्ट काठमाडौँ’ सन् २०१९ मा सञ्चालनमा आए।

‘द सोआल्टी काठमाडौँ’ सन् २०२५ मा म्यारियटको ‘अटोग्राफ कलेक्सन’ मा सामेल भएको थियो भने गत वर्ष ‘मोक्ष काठमाडौँ’ सञ्चालनमा आएको हो। यससँगै अटोग्राफ कलेक्सनको दक्षिण एसियामा पहिलो प्रवेश भएको थियो।

चौधरी ग्रुपले पनि काठमाडौँमा म्यारियटको अर्को प्रमुख ब्रान्ड ‘रिट्ज-कार्लटन’ को पहिलो होटल निर्माण गरिरहेको छ।

म्यारियटको काठमाडौँबाहिर रूपन्देहीको लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा निर्माणाधीन छ।

प्रकाशित: २४ जेठ २०८३ १७:२७ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast